काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई हस्तान्तरण

12.08K
shares

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले २०७२ सालको भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गरेको हो । बिहीबार आयोजित कार्यक्रममा जिल्लाका दश स्थानीय तहका प्रमुख/प्रमुख प्रशासकीय अधिकृत र पुनःनिर्माण प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्राधिकरण एकाइका निमित्त प्रमुख इञ्जिनीयर दीपेन्द्रकुमार रोहिताले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार प्राधिकरणले नगरपालिका/गाउँपालिकामा इञ्जिनीयर, सवइञ्जिनीयर, असिस्टेन्ट सव इञिजनीयर र डकर्मी आवश्यकताअनुसार खटाउनेछ । प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनःनिर्माणको काममा खटाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी स्थानीय तहको हुनेछ ।

नगरपालिका/गाउँपालिकाले नगरपालिका/गाउँपालिकाभित्र आवश्यकताअनुसार सम्बन्धित वडामा उल्लेखित जनशक्तिलाई खटनपटन गर्नेछ । विशेष परिस्थिति परेको अवस्थाबाहेक अन्य अवस्थामा उल्लेखित जनशक्तिलाई नगरपालिका/गाउँपालिकाभन्दा अन्यत्र सरुवा गर्दा नगरपालिका/गाउँपालिकाको सहमति लिइने छ ।

सम्बन्धित वडाका वडाध्यक्षको सिफारिशमा नगरपालिका/गाउँपालिकाका प्रमुख/अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले हाजिरी प्रमाणित गरेको आधारमा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइले सम्बन्धित कर्मचारीको तलबभत्ता उपलब्ध गराउने सहमति भएको छ ।

प्राधिकरणले कर्मचारी व्यवस्थापन गरेपश्चात् स्थानीय तहमा रहेका सिनियर इञ्जिनीयरबाट प्रमाणीकरण गरेपछि स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले प्रमाणित गरेर निचोड तयार पारिने र प्रमाणित भएर आएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत् भुक्तानी दिने व्यवस्था मिलाइनेछ । नगरपालिका/गाउँपालिकामा प्राधिकरणबाट खटिएका जनशक्तिलाई आवश्यक कार्यस्थल र फर्निचर सम्बन्धित स्थानीय तहले व्यवस्था गर्नुपर्ने र प्राधिकरणले मसलन्द खर्चका लागि आवश्यक पर्ने बजेट शर्तसहित एकमुष्ट सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनेछ ।

सहमतिपत्रमा स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजना गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिएबमोजिमको बजेट प्राधिकरणले शर्तसहित नगरपालिका/गाउँपालिकामा निकासा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।

सहमतिपत्रमा नगरपालिका/गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनःनिर्माण कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने, नगरपालिका/गाउँपालिकामा खटिएका कर्मचारीले पदीय आचरण विपरीत कार्य गरेको भेटिएमा नगरपालिका/गाउँपालिकाले कार्बाहीका लागि प्राधिकरणको एकाइलाई सिफारिश गर्ने, निजी आवास पुनःनिर्माणसम्बन्धी तथ्यांक, अभिलेख, दस्तावेज प्राधिकरणबाट क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिनेछ ।

सांसद केदार सिग्देल, प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्मा, प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख गणेशराज वस्तीलगायतको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा सांसद सिग्देलले पुनःनिर्माणको काम तीव्र गतिमा हुनुपर्ने र सबै जनप्रतिनिधिबीच यसमा एकता हुनुपर्नेमा जोड दिए । तनहुँमा १३ हजार ८२१ लाभग्राही पहिचान भएका छन् जसमध्ये ९६ प्रतिशतले पहिलो, ४० प्रतिशतले दोस्रो र १० प्रतिशतले तेस्रो किस्ताबापतको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख इञ्जिनीयर दीपेन्द्रकुमार रोहिताले जानकारी दिए । उनका अनुसार १३ हजार २६८ ले पहिलो, पाँच हजार १९६ ले दोस्रो र एक हजार ३१२ ले तेस्रो किस्ताबापतको रकम बुझेका छन् । (रासस)