महिला क्रिकेट : उद्घाटन खेलमा नेपाल र चीनबीच प्रतिस्पर्धा
वि.सं.२०७५ पुस २७ शुक्रवार १८:५९
shares

थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले चीनको सामना गर्ने भएको छ । रुविना क्षेत्रीको कप्तानीमा मैदान उत्रिने नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको हो ।
शनिबारदेखि माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यानमार छन् ।
नेपालले दोस्रो खेल पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते यूएईसँग खेल्नेछ भने माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली टिमको उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छन् । नेपाली टोलीमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा र कविता कुँवर छन् । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई छन् । प्रशिक्षक विनोद दाससहितको क्रिकेट टोली शुक्रकार त्यसतर्फ प्रस्थान गर्नेछ ।

























