माघे संक्रान्ति : गुल्मीको रिडीमा भव्य मेला, देवघाट र त्रिवेणीमा झुम्मिए भक्तजन
वि.सं.२०७५ माघ १ मंगलवार २०:४६
shares

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले मकर संक्रान्तिका रूपमा पनि मनाइने माघे संक्रान्ति प्रदेश-५ मा पनि धुमधामका साथ मनाइदैछ । प्रदेशको गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भव्य मेला लागेको छ । आफूले चाहेको मना कामना पुरा हुने आशासहित हजारौं दर्शनार्थीहरुले मंगलबार रिडीमा गएर स्नान गर्ने गर्दछन् ।
गुल्मीको सीमाना र अन्य जिल्लाबाट आउनेहरुको प्रवेशद्वाराका रुपमा रुरु रिडी पर्दछ । यसको नामांकन कसरी भयो भन्ने बारेमा मान्छेअनुसार केही मतभेद रहेको पाइएको छ । रुरु नामको मृगले देवदत्त ऋषीको पुत्रीलाई स्तनपान गराइ हुर्काएको कारणले तिनलाई रुरुकन्या भनिएको किम्बदन्ति पाइन्छ ।
तिनै कन्याले यहाँ कठोर तपस्या गरेकी हुनाले यस ठाउँको नाम उनै कन्याको नामबाट रहन गएको मान्यता छ । रुरु कन्याले तपस्या गरेर विष्णु भगवान प्रकट गराएकोले यस क्षेत्र पवित्र भूमि बनेको हो । जसलाई रुरुक्षेत्र भनिन्छ । रुरुक्षेत्रलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ ।
‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो । जसमा ‘री’को अर्थ धमिलो र ‘डी’ को अर्थ पानी भन्ने हुन्छ । अर्थात धमिलो पानी बग्ने क्षेत्र भएकाले यसलाई ‘रिडी’ भनिएको हो भन्ने तर्क रहिआएको छ ।
माघे संक्रान्तिदेखि तीन दिन सम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमा मनोकांक्ष पुरा हुने विश्वास छ । हिन्दू धर्ममाविश्वास राख्नेहरु रिडीमा जमघट हुने गर्दछन् । गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङजा, बाग्लुङ लगायत नेपालका बिभिन्न स्थानबाट रुरु रिडीमा नुहाउन तथा अबलोकन गर्न आउने गर्दछन् ।

चार धाममध्यको एक धाम प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी)मा माघे संक्रान्ति मेलामा भक्तजनको घुइचो लाग्ने गर्दछ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भिड लाग्दछ । रुरु रिडी क्षेत्र कालिगण्डकी र रिडी नदिको संगम स्थल हो ।
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण, ऋषि ऋण तिरिने धार्मिक विश्वास छ । सोहि अबसरमा श्रद्धालुहरुको भीड लाग्ने गर्दछ । माघेसक्रान्तीमा रिडीमा आफ्ना पितृहरुलाई पिण्ड दिनेहरुको अत्याधिक भीड लाग्ने गर्दछ । रुरु क्षेत्र रिडीमा आफ्ना पितृहरुलाई सम्झेर तिथी श्राद्ध गर्नाले काशीगया पुगेर दिए सरह फल प्राप्त हुने शास्त्रमा उल्लेख छ ।
रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । जसका कारण यस क्षेत्रको महिमा नेपालबाहिर पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा प्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ ।
संक्रान्तिबाट सुरू भएको मेला ५ दिन सम्म चल्ने गर्दछ । मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिने गरिदै आएको छ ।
माघे संक्रान्तिको अवसर पारेर पाँचदिनसम्म संचालनहुने रिडी मेलामा विशेषगरी कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामाग्रीहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यापारिहरु बिभिन्न ठाउँवाट तीन दिनसम्मको यात्रागरि रिडी आउने गर्दछन् । मेला भर्न प्रत्येक वर्ष रुकुम, रोल्पा, जुम्ला र सल्यानबाट राडिपाखी को ब्यापार गर्न हिड्दै आउने गर्दछन् ।

रुकुम रोल्पाबाट ल्याएका राडिपाखी बेचेको पैसाले रिडीबाट अन्य सामाग्री किनेर लैजाने गर्दछन् । हातले बुनेका राडिपाखी बाँस तथा निगालोबाट बनेका सामाग्रीहरु र गुल्मीमा उत्पादन हुने बिभिन्न कृषिजन्य सामाग्रीहरु माघे सक्रान्तिमा पाउनुले यस क्षेत्रमा लाग्ने मेलाको अर्को महत्व दर्शाएको छ ।
यसको साथै नवलरासी, चितवन र तनहुको संगम स्थल देवघाटमा पनि धार्मिक उत्सव लागेको छ । नवलरासी जिल्लाको त्रिवेणी धाममा पनि स्थान गर्ने धार्मबालम्बीहरुको संख्या उच्च रहने गर्दछ ।
आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । माघे संक्रान्तिका दिन यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
माघे संक्रान्तिदेखि साउने संक्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो ६ महिनाको समयलाई उत्तरायण भनिन्छ । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने मान्यता छ ।
यस्तै थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गरिन्छ । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।
माघिको अवसरमा ठाउँ ठाउँमा महोत्सव पनि आयोजना गरिएका छन् । यस्तै मगर समदायले पनि माघे संक्रान्ति मनाउँदैछन् । विभिन्न मगर संघसंस्थाहरुले सामूहिक खानपिन र नाचगानलगायतका कार्यक्रम गर्दैछन् ।

























