चोभारमा सुक्खा बन्दरगाह निर्माण सुरु
वि.सं.२०७५ माघ ३ बिहीवार २१:१२
shares

कीर्तिपुर नगरपालिका–३, चोभारमा सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा डेढ घण्टासम्म पूजापाठ गरी सुक्खा बन्दरगाहको शिलान्यास गरेका हुन् ।
सुक्खा बन्दरगाहको १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नेपाल आयात–निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी बन्दरगाह बनाउन लागिएको हो ।
के हुन्छ सुविधा ?
अहिलेसम्म भन्सार जाँचपासको काम सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन् । चोभारमा बन्दरगाह बनेपछि नेपालबाट निर्यात हुने सामानको जाँचपास त्यहीँ हुनेछ ।
बाहिरी चक्रपथ पनि चोभार भएर जान्छ भने काठमाडौं–तराई/मधेस जोड्ने द्रुतमार्ग पनि चोभार हुँदै जानेछ । त्यस्तै, चीन र भारतबाट आउने रेललाई पनि चोभारमा जोड्ने सरकारी योजना छ ।
कसरी बन्छ बन्दरगाह ?
चोभार बन्दरगाह निर्माणका लागि एउटा स्वदेशी र अर्को विदेशी कम्पनीसँग ठेक्का सम्झौता भएको छ । अन्तर्राष्ट्रियस्तरको निर्माण कम्पनीले सुक्खा बन्दरगाहको मूल भवन, पार्किङ स्थल, गोदामलगायतका संरचना निर्माण गर्नेछ भने राष्ट्रियस्तरको निर्माण कम्पनीले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय भवन एवं भन्सारसम्बन्धी भवन र अन्य पूर्वाधार निर्माण गर्नेछ ।
बन्दरगाहको मूल भवन, पार्किङ स्थल, गोदामलगायतका संरचना निर्माणका लागि सान्छी–आशिष जेभी भरतपुर १० ले भ्याटबाहेक १ अर्ब २८ करोड १० लाख ५० हजार ६ सय २४ रूपैयाँमा ठेक्का पाएको छ । जुलाई ५, २०१८ मा भएको सम्झौता १ फेब्रुअरी, २०२० मा सम्पन्न हुनेछ ।
त्यसैगरी, इन्टरमोडल यातायात विकास समितिको कार्यालय भवन एवं भन्सारसम्बन्धी भवन र अन्य पूर्वाधारको लुम्बिनी कोशी एन्ड न्यौपाने जेभी नयाँ बानेश्वर काठमाडौंले २० करोड १४ लाख ८७ हजार ३८ रुपैयाँबराबरको ठेक्का पाएको छ । जुलाई ११, २०१८ मा भएको सम्झौता ३१ जनवरी, २०२० मा सम्पन्न हुनेछ । सुक्खा बन्दरगाह निर्माणका लागि विश्व बैंकले १ अर्ब ५७ करोड रुपैयाँ सहयोग गरेको छ ।
बन्दरगाहको स्थानीयद्वारा विरोध
सुक्खा बन्दरगाह निर्माणको स्थानीय बासिन्दाले भने विरोध गरेका छन् । यो जग्गामा बन्दरगाह निर्माण गर्न नहुने उनीहरूको माग छ । विगतमा हिमाल सिमेन्ट कारखाना रहेको जग्गामा बन्दरगाह बन्न लागेको हो । वातावरणीय प्रदूषण गराएको भन्दै सिमेन्ट कारखाना नै बन्द भएको हो ।

























