गृहपृष्ठ चन्द्रागिरि महोत्सव भोलिदेखि
चन्द्रागिरि महोत्सव भोलिदेखि
धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा शुक्रबारबाट ‘चन्द्रागिरि महोत्सव’ हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश ३ सरकार र जिल्ला विकास समन्वय समिति काठमाडौंको सहआयोजनामा महोत्सवमा हुन लागेको हो ।
‘चन्द्रागिरिको सर्वांगीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सुन्दरताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ दोस्रोपटक महोत्सव हुन लागेको हो । महोत्सव चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा हुनेछ । पर्यटकीय स्थल चन्द्रागिरिलाई स्थानीय कला, संस्कृति, प्राकृतिक स्रोत र साधन, सांस्कृतिक सम्पदा, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा प्रवर्धन गर्न महोत्सव आयोजना गरिएको चन्द्रागिरि नगरपालिका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । बिहीबार पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रवक्ता महर्जनले भने, ‘महोत्सवमा चन्द्रागिरिको पृष्ठभूमि झल्किने होर्डिङबोर्ड, फोटो प्रदर्शनी र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ ।’
नौ दिन चल्ने महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम संकलनलगायतका सयभन्दा बढी स्टल रहने महोत्सवका संयोजक रामनारायण घिमिरे बताए । महोत्सवमा स्थानीय स्तरबाट झाँकी प्रदर्शन गरिनेछ । दहचोक, कालुपाण्डे समाधि स्थल, मातातीर्थ, थानकोट, मच्छेनारायण जस्ता पर्यटकीय तथा धार्मिक स्थल रहेको पर्यटकीय स्थललाई सरकारले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगेको छ ।
प्रकाशित समय : ०२:५३ बजे


















