गृहपृष्ठ भोटेकोशी बाढीः बाँसका संरचना निर्माण गर्न दिक्तेल रुपाकोट मझुवागढीले सहयोग गर्ने

भोटेकोशी बाढीः बाँसका संरचना निर्माण गर्न दिक्तेल रुपाकोट मझुवागढीले सहयोग गर्ने

भोटेकोशी बाढीः बाँसका संरचना निर्माण गर्न दिक्तेल रुपाकोट मझुवागढीले सहयोग गर्ने

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अस्थायी बासस्थान निर्माणका लागि बाँस खरिदमा आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले सम्बन्धित निकायको समन्वयमा विपद् प्रभावित क्षेत्रमा बाँस तथा काठ उपलब्ध गराई बासस्थान निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो ।

प्रभावित नागरिकका लागि बाँसका संरचना निर्माण गर्न नगरपालिकाको तर्फबाट रु ६२ लाख नौ हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

नगरपालिकाका जनप्रतिनिधिबाट नौ लाख ८९ हजार तथा कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीबाट ५२ लाख २० हजार उपलब्ध गराइनेछ । जनप्रतिनिधिको एक महिनाको सेवासुविधाबापतको रकम उपलब्ध गराइनेछ । कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीको भने तहअनुसारको पारिश्रमिक कट्टा गरेर एकमुस्ट उपलब्ध गराइनेछ ।

नगरपालिकाले वडा नं ३, ६, ७ र १२ तथा ज्येष्ठ नागरिक सङ्घबाट एक–एक गाडी बाँस उपलब्ध गराउने निर्णय गरेको छ । अन्य वडाबाट प्रतिवडा रु १५ हजारका दरले बाँस खरिद तथा ढुवानीका लागि खर्च व्यवस्थापन गरिने नगरपालिकाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

खोटाङ बाँसको राजधानी भएकाले विपद् प्रभावित क्षेत्रमा बाँसका संरचना निर्माणमा सहयोग गर्ने निर्णय भएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।

“विपद् प्रभावित क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले बाँस प्रविधिसँग सम्बद्ध विज्ञ र सम्बद्ध निकायको पहलमा बाँसको वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारिएको छ । यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेका छौँ”, उनले भने, “बाँस स्थानीय रूपमा सहजै उपलब्ध हुने, नवीकरणीय, कम लागतमा संरचना तयार गर्न सकिने तथा उचित प्रशोधन र संरचनात्मक डिजाइन गर्दा दश वर्षसम्म टिक्छ ।”

विपद् प्रभावित क्षेत्रमा साना सरकारी तथा सामुदायिक भवन, अस्थायी आवास, सेवा केन्द्र, प्रतीक्षालय, विद्यालय तथा स्वास्थ्यचौकीका अस्थायी संरचना निर्माणमा बाँसको प्रयोग गर्न सकिन्छ । स्थानीय स्रोत र श्रमको उपयोग गरी रोजगारी सृजना गर्ने, दिगो पुनर्निर्माणलाई प्रवर्द्धन गर्ने तथा वैज्ञानिक प्रशोधन र संरचनात्मक मापदण्डमार्फत बाँसलाई भरपर्दो तथा दिगो निर्माण सामग्रीका रूपमा स्थापित गर्ने नगरपालिकाको लक्ष्य छ ।

बाँसको प्रयोगबाट निर्माण गर्न उपयुक्त सरकारी, सार्वजनिक, सामुदायिक तथा आवासीय संरचनाको आवश्यकता र प्राथमिकताबारे जानकारी दिन नगरपालिकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेको छ ।

नगरपालिकाले जोखिममा रहेका नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गर्न आग्रह गरेको छ । दश स्थानीय तह रहेको जिल्लाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाहेक अन्य स्थानीय तहले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्नेबारे हालसम्म निर्णय गरेका छैनन् ।

प्रकाशित समय : ०६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु