गृहपृष्ठ नेपालले सिंगापुरलाई दियो २ सय ८३ रनको लक्ष्य
नेपालले सिंगापुरलाई दियो २ सय ८३ रनको लक्ष्य
नेपालले अन्डर–१९ विश्वकप एक दिवसिय एसिया छनोटमा सिंगापुरसामु २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कप्तान रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले ४६.२ ओभरमा अलआउट हुँदै २ सय ८२ रन जोडेको हो । क्वालालाम्पुरमा टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो । रोहितले ९५ रन जोड्दै पभेलिएन फर्किए । उनी पाँच रनले मात्र शतक बनाउनबाट चुके । रोहितले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरेका थिए । ४६ औं ओभरको पहिलो बलमा उनी क्याच आउट हुन पुगे ।
लगत्तै एकै ओभरमा दुई विकेट गुमाउँदै नेपाल अलआउट हुन पुग्यो । कमलसिंह ऐरी ३१ रन जोड्दै र सूर्य तामाङ खाता नखोल्दै आउट हुन पुगे । रोहित र राशिद खानले ७७ रनको आक्रमक साझेदारी गरेका थिए । राशिद ४८ रन जोड्दै रनआउट भए । ओपनर पवन सरार्फले ४७ रनको योगदान गरे । उनी तीन रनले अर्धशतक बनाउनबाट चुके । पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा रित गौतम आउट भए । उनले एक रन मात्र जोडेका थिए ।
आशिफ शेख ८ रनमा आउट भए । तेस्रो विकेटका लाथि रोहित र पवन सरार्फले ९० रनको साझेदारी गरी नेपाललाई बलियो अवस्थामा पुर्याए । भिम सार्कीले पनि आक्रमक ब्याटिङ गर्दै २६ रन जोडे । कुशल मल्ल १० रन बनाउँदै पेभेलिएन फर्किए ।
सिंगापुरका अथर्व गुनेले ४, राहुल शर्मा र विनित मेहराले समान २–२ तथा सिंघवीले १ विकेट लिए ।
प्रकाशित समय : १७:२६ बजे


















