गृहपृष्ठ मलेसियामाथि नेपालको जित
मलेसियामाथि नेपालको जित
काठमाडौं । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गरेको थियो ।
मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपाल २१ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६८ बलमा चार चौका प्रहार गर्दै अविजित ४५ रनको योगदान दिएका हुन् ।
त्यसैगरी, इसान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ तथा रोहितकुमार पौडेलले १० बनाए । बलिङतर्फ मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान एक/एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो । मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोडे । उनले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३० रन जोडेका हुन् ।
त्यसैगरी, अकिल वाहिदले २४ रन जोडे भने भिरनदीप सिंहले १४ तथा स्याहादत रामिले १३ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।
मलेसियालाई १०३ रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । त्यस्तै, ललितनारायण राजबंशीले दुई विकेट तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एकरएक विकेट लिए । नेपालले अब आफ्नो तेस्रो खेल यही भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ ।
प्रकाशित समय : १२:५७ बजे


















