काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुर्गममा अझै पुगेन पाठ्यपुस्तक

13.65K
shares

नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरू गाउँपालिकामा रहेका विद्यालयहरूमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन ।

किताब बिक्री वितरणको जिम्मा लिएका स्टेसनरी तथा वितरकहरूले आवश्यक किताब समयमै ढुवानी गरेर बिक्री वितरण गर्न नसक्दा जिल्लाका चार स्थानीय निकायमध्ये सोरू गाउँपालिकामा रहेका ४१ विद्यालयले शैक्षिक सत्र सुरु भएको दुई महिना हुन लाग्दा पनि किताब पाउन नसकेका हुन् ।

‘विद्यालय खुलेको दुई महिना भइसक्यो, किताब अझै पाएका छैनौँ,’ भवानी मावि पुरुमुरु कक्षा १० मा अध्ययनरत विद्यार्थी पूर्ण शाहीले भने, ‘विद्यालयमा रहेका पुराना केही किताबबाट शिक्षकले पढाउने गरेका छन् । किताब लिन सदरमुकाम गमगढीमा दुई पटक पुग्दासमेत पाएनौं । किताब नहुँदा घरमा पढ्न पाइएको छैन ।’

कक्षा ६ देखि १० सम्मको किताब जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश सुर्खेत कार्यालय र कक्षा १ देखि ५ सम्मका किताब काठमाडाँंका निजी प्रकाशनबाट ल्याई छायाँनाथ रारा नगरपालिका, मुगु मकार्मारोङ र सोरू गाउँपालिका सबै विद्यालयलाई बिक्री वितरण गर्ने जिम्मा सदरमुकाम गमगढीमा रहेका केबी, जयलक्ष्मी, त्रिशक्ति र अविनाश स्टेसनरी तथा सप्लायर्सले जिम्मा लिएका छन् ।

पहिलो पटक ल्याइएका किताब छायाँनाथ रारा नगरपालिका र मुगु मकार्मारोङ गाउँपालिकाका सबै विद्यालयलाई बिक्री वितरण गरेका थिए । सोरू गाउँपालिकाका ४१ विद्यालयका लागि ल्याएका किताब सुर्खेतको न्यु मनकामना ढुवानी सेवामा रहेका छन् । ढुवानी गर्न ढिलो गरेकाले सोरू गाउँपालिकाका ४१ विद्यालयले किताब नपाएको केबी स्टेसनरीका सञ्चालक केशव चौलागाईंले बताए ।

जिल्लाका चार स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा शैक्षिक सत्र सुरु हुँदै किताब पुगेका थिए । छायाँनाथ रारा नगरपालिका र मुगु मकार्मारोङ गाउँपालिकाका विद्यालयमा शैक्षिक सुरु भएको केही समयपछि किताब पुगेको छ ।

सोरूमा शैक्षिक सत्र सुरु भएको दुई महिना हुन लाग्दासमेत किताब नपुग्दा ४१ विद्यालयका कक्षा १ देखि ५ सम्मका २ हजार ८ सय ६४, कक्षा ६ देखि १० सम्मका ६०५ जना विद्यार्थीले किताब विद्यार्थी पढ्नबाट वञ्चित भएको विजय माविका शिक्षक वीरबहादुर बमले बताए । सोरूमा पुस्तक नपुग्दा यहाँका विद्यार्थी दिनहुँ विद्यालय जाने र दिनभरि खेलेर बेलुका फर्कने गरेका छन् । (रासस)