global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मुलुकले कम्युनिष्ट अतिवाद र अधिनायकवाद थेग्न सक्दैन : नेता सिंह

मुलुकले कम्युनिष्ट अतिवाद र अधिनायकवाद थेग्न सक्दैन : नेता सिंह

मुलुकले कम्युनिष्ट अतिवाद र अधिनायकवाद थेग्न सक्दैन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फेरि पनि कम्युनिष्टले नै चुनाव जिते मुलुक भड्खारोमा गएर जाकिने बताएका छन् । कम्युनिष्ट अतिवाद र अधिनायकवाद अब मुलुकले थेग्न नसक्ने भन्दै उनले त्यसबाट मुक्त गर्न कांग्रेसलाई जिताउन आग्रह गरे ।

सोमबार पोखरामा आयोजित चुनावी सभामा नेता सिंहले कालापानी र लिपुलेकमा गएर लम्पसार परेको ओलीको राष्ट्रवादले मुलुकले धेरै वर्ष दुःख पाउने टिप्पणी गरे । ‘सीमा विवादमा प्रतिपक्षी कांग्रेसले धेरै बोल्यो, जनता आन्दोलनमा उत्रिएर सडकमा आइसक्दा पनि प्रधानमन्त्री ओलीजी झिनामसिना कुरा भन्दै बसिरहनुभएको छ’, उनले भने, ‘उहाँको खोक्रो राष्ट्रवाद अब जनताले पत्याउदैनन् ।’ यतिबेला विश्वको ध्यान कास्की–२ मा रहेको भन्दै उनले यस क्षेत्रबाट कांग्रेसले चुनाव जितेर देश विदेशमा सकारात्मक सन्देश दिन चाहेको बताए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस बसेको हात्ती भएको भन्दै उठेर मुन्टोमात्र हल्लाउने हो भने सबै तितरवितर हुने बताए । उनले राष्ट्रियताको विषयमा कांग्रेसलाई कसैले पाठ सिकाइरहन आवश्यक नपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीसँग सिधा वार्ता गरेर देखाउन चुनौती दिए । विकास र समृद्धिका जति ठूला र खोक्रा भाषण गरे पनि नेपाल कांग्रेसकै पालामा बनेको गोरेटोमा अघि बढिरहेको भन्दै प्रवक्ता शर्माले ओली सरकार काण्डैकाण्ड मच्चाउन उद्यत रहेको बताए ।

उनले कास्की–२ सहित सबै क्षेत्रबाट कांग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सरकारलाई ल्याउन आवश्यक रहेको बताए । ‘सरकारका २१ महिनामा देखिने र चर्चा गर्नलायक कुनै पनि काम छैनन् । कुर्सीमा बसेर समृद्धिको भाषण मात्र नखोक्दा हुन्छ’, उनले चुनौती दिंदै भने, ‘सरकारले कम्तिमा निर्मला पन्तको हत्यारा समातेर कारबाही गरेर देखाओस् । कम्तिमा वाइडवडीको काण्ड सही के हो बाहिर ल्याउने हिम्मत गरोस् ।’

पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली कांग्रेसको मुख्य शत्रु भ्रष्टाचार, बलात्कार, हिंसा र लम्पसारवाद भएको बताए । उनले जनता करैकरको थुप्रोमा थिचिएर स्वास फेर्न पनि नसक्ने अवस्थामा पुगेको भन्दै यसबाट मुक्ति पाउन पनि कांग्रेसले चुनाव जित्नुपर्ने स्पष्ट पारे । उनले कांग्रेसले कर होइन करको दायरा फराकिलो बनाउने नीति लिएको बताए ।

उम्मेदवार खेमराज पौडेलले संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै आफूले जनतासामू गरेका बाचा कहिल्यै नभुल्ने बताए ।

कार्यक्रममा पूर्व मन्त्री भीमसेनदास प्रधान, कास्की कांग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु, पोखरा–११ का वडा इकाइ सभापति बोधराज घिमिरे, सचिव वसन्त कोइराला लगायतले बोलेका थिए ।

‘कास्कीको चुनाव २४ सय मत अन्तरले जित्छौँ’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की–२ को चुनाव २४ सय मत अन्तरले कांग्रेसले जित्ने दावी गरेका छन् । चुनावी प्रचारका लागि आइतबार पोखरा आएका प्रवक्ता शर्माले नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन् । ‘सबै प्रकारले हेर्दा २ हजार ४०० मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं । म पनि पोखरा आइपुगेको छु’, उनले भने ।

प्रवक्ता शर्माले कास्कीको चुनाव जित्ने आधारसमेत प्रस्तुत गरे । ‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिष्ट सरकारले गरेका गलत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरूको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन्’, उनले भने ।

स्व. रवीन्द्र अधिकारी गणतन्त्रवादी हुन्

कांग्रेस प्रवक्ता शर्माले पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनसंगै आफूले घनिष्ट मित्र गुमाउन पुगेको बताए । आफू नेविसंघ र रवीन्द्र अनेरास्ववियुको अध्यक्ष बनेर संगगंगै सहकार्य गरेर अघि बढेको स्मरण गरे । ‘रवीन्द्र अधिकारी एउटा इमान्दार गणतन्त्रवादी नेता हो, वंशवादी होइनन् । उनी वंशवादमा पनि विश्वास गर्दैनन् र एउटा मान्छे, एउटै जीवनमा एकैसाथ गणतन्त्रवादी र वंशवादी हुन सक्दैनन्’, उनले भने । उनले उम्मेदवार विद्याले स्व. रवीन्द्रको उत्तराधिकारी भनेर आफूलाई प्रस्तुत गर्न नमिल्ने टिप्पणी गरे ।

सकियो मतदाता भेटघाट

नेपाली कांग्रेस कास्कीले क्षेत्र नं. २ का सबै मतादातसंगको भेटघाट सकिएको जनाएको छ । ३ चरणमा चुनाव प्रचार अभियान चलाएको कांग्रेसले पहिलो, दोस्रो र तेस्रो चरणमा मतदाता भेटघाट पूरा गरेको जनाएको छ ।

एक पटक सबै मतादातसंग भेट गरी मतदाताका गुनासो सुन्ने र पार्टीको धारणा स्पष्टसंग राख्ने काम भएको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार अब चुनावीसभामार्फत पार्टीको प्रतिवद्धता सार्वजनिक गरिनेछ ।

प्रकाशित समय : ०१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु