आज राधारानीको पूजा–आराधना गरिँदै, सौभाग्य र सुख–समृद्धिको कामना
वि.सं.२०८३ कात्तिक १६ सोमवार ०६:२९
shares

काठमाडौँ । सनातन हिन्दू धर्मावलम्बीले आज राधारानीको पूजा–आराधना गर्दै राधाष्टमी व्रत मनाउँदैछन्। भगवान् श्रीकृष्णकी शक्ति तथा ह्लादिनी शक्तिस्वरूपा राधारानीको जन्मोत्सवका रूपमा राधाष्टमीलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण पर्व मानिन्छ।
पञ्चाङ्गअनुसार राधाष्टमी भाद्र शुक्ल पक्षको अष्टमी तिथिमा मनाउने परम्परा छ। यद्यपि केही स्थान र परम्परामा कार्तिक कृष्ण अष्टमीका दिन पनि राधारानीको स्मरण तथा पूजा गर्ने चलन रहेको पाइन्छ।
पौराणिक ग्रन्थहरूमा राधारानीको प्राकट्यसम्बन्धी विभिन्न कथा उल्लेख छन्। धार्मिक कथनअनुसार राजा वृषभानुले यज्ञका लागि जमिन जोत्ने क्रममा सुनको पेटिकाभित्र एक दिव्य कन्या फेला पारेका थिए। निःसन्तान राजा वृषभानुले ती कन्यालाई आफ्नी पत्नी कीर्तिदाको जिम्मा लगाएका थिए। पछि उनको नाम राधा राखिएको धार्मिक विश्वास छ।
अर्को मान्यताअनुसार भगवान् श्रीकृष्ण पृथ्वीमा अवतरण हुँदा राधारानी पनि गोलोकबाट पृथ्वीमा अवतरित भएकी थिइन्। राधारानीलाई भगवान् श्रीकृष्णको प्रेम, भक्ति र समर्पणको प्रतीकका रूपमा लिइन्छ।
धार्मिक विश्वासअनुसार राधारानीको कृपाबिना भगवान् श्रीकृष्णको पूर्ण कृपा प्राप्त गर्न कठिन हुन्छ। राधाष्टमीका दिन श्रद्धापूर्वक व्रत बसेर पूजा–आराधना गर्दा पाप नाश हुने तथा घरपरिवारमा सुख, शान्ति, समृद्धि र आरोग्यता प्राप्त हुने जनविश्वास छ।
राधा र कृष्णको प्रेमलाई सांसारिक प्रेमभन्दा माथि जीवात्मा र परमात्माबीचको सम्बन्ध तथा निःस्वार्थ भक्ति र समर्पणको प्रतीकका रूपमा व्याख्या गरिन्छ। विशेषगरी महिलाहरूले परिवारको कल्याण, दाम्पत्य सुख र सौभाग्यको कामना गर्दै यो व्रत बस्ने धार्मिक परम्परा छ।
राधाष्टमीका दिन बिहान स्नान गरी व्रतको संकल्प लिने र राधारानी तथा भगवान् श्रीकृष्णको मूर्ति वा तस्बिर स्थापना गरी पूजा गर्ने चलन छ। यस दिन भक्तजनले फलाहार वा निराहार व्रत बस्ने, भजन–कीर्तन गर्ने तथा रात्रि जागरणसमेत गर्ने गर्छन्।
धार्मिक ग्रन्थहरूमा राधाष्टमी व्रतलाई अश्वमेध यज्ञसरह फलदायी मानिएको उल्लेख पाइन्छ। विधिपूर्वक व्रत तथा पूजा गरे मृत्युपछि श्रीधाम वृन्दावन वा गोलोक प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ। यस अवसरमा विभिन्न राधा मन्दिरमा विशेष पूजा, झाँकी तथा भजन–कीर्तन आयोजना गरिन्छ।

























