global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपालमा २६ किसिमका बाह्य मिचाहा वनस्पति

नेपालमा २६ किसिमका बाह्य मिचाहा वनस्पति

नेपालमा २६ किसिमका बाह्य मिचाहा वनस्पति

नेपालमा व्यापक रूपमा फैलिँदै गएको विषालु पार्थेनियम (गाजरे झार/पाति झार)ले मानिस र पशुमा गम्भीर असर पार्न थालेको छ । यो झार अहिले देशका ६० भन्दा बढी जिल्लामा फैलिइसकेको अध्ययनले देखाएको छ ।

हेर्दा तीतेपातिजस्तै देखिने यो झारको फूलबाट निस्कने सेतो धूलोले मानिस र पशुका स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको अध्ययनले देखाएको छ ।

यसको पात गाजरजस्तै हुने भएकाले यसलाई गाजरे झार भनिन्छ । यसको संगर्समा पर्नासाथ छाला चिलाउनेदेखि यसको फूलको सेतो धुलो आँखामा परेमा आँखाका ज्योतिसम्म गुम्ने खतरा रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

यस्तै, चितवन राष्ट्रिय निकुञ्जमा हालैका वर्षहरूमा फेला परेको लहरे वनमाराले नेपालको रैथाने वनस्पतिमाथिमात्र नभइ वन्यजन्तुलाई गम्भीर असर पारेको ठहर वनस्पतिविद्हरूले गरेका छन् । वनस्पति विभागले गरेको एक अध्ययनअनुसार चितवन निकुञ्जको झन्डै ३० प्रतिशत हिस्सा यो मिचाहा वनस्पतिले ढाकिसकेको छ ।

यो मिचाहा प्रजातिको वनस्पति हरेक वर्ष तीव्र गतिमा बढ्दै गएपछि लोपन्मुख एक सिङ्गे गैंडासहित अन्य वन्यजन्तुको बासस्थान संकटमा पर्दै गएको छ ।

विभागले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार लहरे वनमारासहित नेपालमा २६ किसिमका बाह्य मिचाहा वनस्पति पाइएका छन्, जसले यहाँको जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीमाथि नै प्रतिकूल असर पारेको ठहर विभागको छ ।

विभागका अनुसार नेपालमा १७९ प्रजातिका बाह्य प्रजातिका वनस्पति छन्, तीमध्ये २६ प्रजातिका वनस्पति मिचाहा हुन्, जसले अरु प्रजातिका वनास्पति हुने क्षेत्र कब्जा गर्दै आफू फैलिन्छन् ।

नेपालमा फैलिएका मिचाहा वनस्पतिमध्ये सेतो वनमारा, जलकुम्भी, वनफाँडा र लहरे वनमारालाई विश्वकै २०० अत्याधिक मिचाहा वनस्पतिमा सूचिकृत गरिएको विभागको अध्ययनमा उल्लेख छ ।

‘नेपालमा तराई, चुरे हुँदै मध्य पहाडी क्षेत्रको वन क्षेत्रमा बाह्य मिचाहा प्रजातिको बाक्लो उपस्थिति र फैलावट हुँदै गएको देखिएकोे छ,’ विभागको अध्ययनमा भनिएको छ– ‘बढ्दो पर्यटन, व्यापार र आवतजावतसँगै बाह्य मिचाहा प्रजातिहरूको आवागमन पनि बढिरहेको देखिन्छ ।’

यस्ता मिचाहा प्रजातिहरूका कारण रैथाने उपयोगी विरुवाहरूसमेत संकटमा परेको भन्दै विभागले यस्ता प्रजातिबारे थप अध्ययन गर्नुपर्ने ठहर गरेको छ ।

यी हुन् मिचाहा प्रजाति वनस्पतिः

कालो वनमारा, सेतो वनमारा, लहरे वनमारा, सेतो गन्धे झार, नीलो गन्धे झार, जल जबन्धु/पटपटे, काँडे लुडे, थालक/ सत्यानासी,कालो कुरो, जलकुम्भी, फूली झार, चित्लाङ्गे, तुलसी झार/ठूलो मिर्रे, बेशरम, वनफाँडा, करौँती घाँस/नाभो घाँस, लज्जावती झार, ‘प्यारोट्स फादर’, ठूलो चरिअमिलो, पाति झार/गाजरे झार, कुम्भिका, ठूलो र सानो टाप्रे, थाङ्ने झार, आलु पाते र भेडे कुरो ।

प्रकाशित समय : २३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु