गृहपृष्ठ पाँचखालमा विशेष आर्थिक क्षेत्र बन्दै
पाँचखालमा विशेष आर्थिक क्षेत्र बन्दै
पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)को निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ र ८ को करीब एक हजार जमीनमा सेज हाल निर्माणाधीन अवस्थामा रहेको हो ।
सेजको मुख्य प्रशासनिक भवन निर्माणको काम भइरहेको छ । चालू आर्थिक वर्षको रु १२ करोडमा सेज आयोजनाको मुख्य भवन निर्माण भइरहेको हो भने रु तीन करोडमा पर्खाल तथा तारजाली लगाउने काम भइरहेको छ ।
करीब आठ वर्षअघि अर्थात् २०६८ साउन २० गते पाँचखालमा सेजका स्थापनाका लागि जग्गा उपलब्ध गराउन वन मन्त्रालयले जिल्ला वन कार्यालयलाई निर्देशन दिएपछि प्रक्रिया शुरु भएको थियो ।
विभिन्न कानूनी प्रक्रियागत अवरोधका कारण तत्कालीन अवस्थामा नियमित काम हुन नसकेको पाँचखाल नपा–७ का वडाध्यक्ष पुष्कर ढकालले बताए ।
उनका अनुसार हाल पाँँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करिब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण शुरु गरिएको हो ।
‘केही कानुनी अड्चनका कारण सेजको काम पहिला अघि बढ्न सकेको थिएन, अहिले केही खुकुलो बन्दै गएका कारण निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ’, उनले भने ।
विशेष आर्थिक क्षेत्र विकास समितिले बजेट निकास गर्ने निर्णयसँगै वातावरणीय प्रभाव मूल्याङ्कन गरी सिमाङ्कन तथा वनमा रहेका रुख हटाउने प्रक्रिया शुरु गरिएको थियो । अझै करिब ४० रोपनी जमीनमा रुख हटाउन बाँकी छ ।
यसका लागि जिल्लास्थित वन कार्यालयसँग समन्वय भइरहेको वडाध्यक्ष ढकालले बताए ।
गौरव आयोजनामध्येको यो आयोजनामा तीव्रगतिमा भइरहेकाले निकट भविष्यमै सञ्चालनमा ल्याइने तयारी भइरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थानीय नेता कञ्चन अधिकारीले बताउँछन् ।
उन अनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले समय–समयमा निर्माणाधीन सेजको निरीक्षण गरी बजेट अभाव हुन नदिने आश्वासन दिएका छन् ।
अर्थ मन्त्रलयले प्रदेश नं ३ सरकारसँग समन्वय गरी अरनिको राजमार्गदेखि करिब तीन किलिमिटरको दूरीमा निर्माणाधीन सेजसम्म पुग्ने सडक पक्की गरिदिने भएको छ ।
केही वर्षअघि सेजका लागि छुट्याइएको बजेट काम शुरु नहुँदा फर्किएको थियो । “हामीले निकै पहल गर्यौँ पहिला काम शुरु गर्न तर विविध कारणले बजेटसेमत फिर्ता हुँदा निकै दुखित बनेका थियौँ, अब बल्ल शुरु भयो, निर्धक्क छौं’, उनले भने ।
विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले निर्यातजन्य उत्पादन गर्नेछ । उत्पादित वस्तुमध्ये ७५ प्रतिशत बाहिरी मुलुकमा र बाँकी स्वेदेशी बजारमा लैजाने योजना बनाइएको छ । विशेष आर्थिक क्षेत्र विकास समितिले भने चिनियाँ कम्पनीले पाँचखाल सेजमा वस्तु उत्पादन गरी उतै निर्यात गर्ने जनाउँदै आएको छ । (रासस)
प्रकाशित समय : ००:१२ बजे




















