global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्डले ट्रम्प चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भू–राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने बहुप्रतिक्षित शिखर वार्ताअघि ट्रम्पले अमेरिकी कम्पनीहरूका लागि चीनलाई अझ ‘खुला’ बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गरेको छ ।

वासिङ्टनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीहरूको पहुँच विस्तार गर्न चाहेको बताए । उनले सी जिनपिङलाई ‘असाधारण दृष्टिका नेता’ भन्दै चीनलाई अमेरिकी उद्यमका लागि थप खुला बनाउन आग्रह गरेको हो ।

“म राष्ट्रपति सीलाई चीनलाई अझ खुला बनाउन आग्रह गर्दछु, ताकि अमेरिकी प्रतिभा र प्रविधिले चीनलाई अझ उच्च स्तरमा पुर्‍याउन सकोस्”, ट्रम्पले लेखेको थियो ।

यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरका रूपमा अघि सारेको देखिएको छ । यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेइजिङ पुगेका छन् ।

एनभिडियाका प्रमुख जेन्सेन हुआङ अलास्कामा गरिएको प्राविधिक अवतरणका क्रममा एयर फोर्स वनमा सवार भएको थियो भने टेस्ला प्रमुख एलन मस्क पनि राष्ट्रपति विमानमार्फत चीन भ्रमणमा सहभागी भएको बताइएको छ ।

यसैगरी एप्पलका प्रमुख टिम कुकसहित अन्य ठूला अमेरिकी कम्पनीका कार्यकारी प्रमुखहरू पनि बेइजिङ भ्रमणमा सहभागी हुनेछन् । करिब एक दशकपछि अमेरिकी राष्ट्रपति चीन भ्रमणमा पुगेकाले यसलाई विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने प्रयासका रूपमा हेरिएको छ ।

तर व्यापारिक सम्बन्ध सुधारको प्रयासबीच ताइवान, इरान युद्ध र कृत्रिम बौद्धिकता (एआई) प्रतिस्पर्धाजस्ता संवेदनशील विषयले वार्तालाई जटिल बनाउने सम्भावना पनि देखिएको छ ।

ह्वाइट हाउसबाट प्रस्थानअघि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानबारे सी जिनपिङसँग ‘लामो वार्ता’ हुने अपेक्षा व्यक्त गर्नुभयो । चीनले अमेरिकी प्रतिबन्धका बाबजुद इरानी तेल खरिद जारी राखेकाले यो विषय वार्ताको केन्द्रमा रहने अनुमान गरिएको छ ।

यद्यपि ट्रम्पले चीनसँगको मतभेदलाई कम महत्त्व दिन खोजे। “मलाई लाग्दैन, इरानका विषयमा हामीलाई चीनको विशेष सहयोग आवश्यक छ । राष्ट्रपति सी यस विषयमा अपेक्षाकृत सकारात्मक हुनुहुन्छ”, उनले भने ।

तर बेइजिङ भने पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्तित देखिएको छ । चिनियाँ विदेश मन्त्रालयले मङ्गलबार पाकिस्तानलाई इरान र अमेरिकाबीचको संवाद प्रक्रियामा मध्यस्थता प्रयास बढाउन आग्रह गरेको थियो । यसले चीन क्षेत्रीय स्थिरता कायम गर्न कूटनीतिक भूमिका विस्तार गर्न इच्छुक रहेको सङ्केत दिएको छ ।

ट्रम्पको सन् २०१७ पछिको पहिलो चीन भ्रमणमा बिहीबार र शुक्रबार सी जिनपिङसँग औपचारिक वार्ता हुनेछ । कार्यक्रमअनुसार बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा राजकीय भोज, चिया स्वागत तथा उच्चस्तरीय समारोह आयोजना गरिनेछ ।

ट्रम्पले सोमबार ताइवानसँग सम्बन्धित अमेरिकी रक्षा सहकार्यबारे पनि सी जिनपिङसँग छलफल हुने सङ्केत गर्नुभएको थियो । चीनले ताइवानलाई आफ्नो अभिन्न भाग मान्दै आएको छ भने अमेरिकाले ताइवानसँग विभिन्न तहमा सुरक्षा सहयोग कायम राख्दै आएको छ । यही विषय वासिङ्टन र बेइजिङबीच समय–समयमा विशेष चासोको विषय बन्ने गरेको छ ।

दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, कृत्रिम बौद्धिकता ९एआई० क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन र प्रविधि सुरक्षासम्बन्धी प्रश्न पनि शिखर वार्ताका प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।

गत अक्टोबरमा दक्षिण कोरियामा भएको भेटपछि ट्रम्प र सीबीच सुरु भएको व्यापार युद्धविरामलाई थप एक वर्ष लम्ब्याउने विषयमा पनि छलफल हुने तयारी छ ।

बेइजिङमा शिखर सम्मेलनअघि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । एएफपीका पत्रकारहरूले प्रमुख चोकहरूमा प्रहरी परिचालन बढाइएको तथा मेट्रोमा यात्रुहरूको परिचयपत्र जाँच भइरहेको देखेका छन् ।

पूर्वी चीनको नानजिङबाट बेइजिङ आएकी २४ वर्षीया वेन वेनले ट्रम्प भ्रमणलाई ‘ठूलो घटना’ का रूपमा व्याख्या गरे । “केही न केही प्रगति अवश्य हुनेछ भन्ने लाग्छ”, उनले भने, “हाल विश्व अस्थिर देखिए पनि चीन र अमेरिकाले दीर्घकालीन शान्तिका लागि सहकार्य गर्न सक्छन् भन्ने आशा छ ।”

अमेरिका र चीनले पछिल्ला वर्षहरूमा व्यापार, सुरक्षा र भू–राजनीतिक क्षेत्रमा एकअर्कालाई प्रतिस्पर्धीका रूपमा हेर्दै आएका छन् । त्यसका बाबजुद दुवै पक्षले सम्बन्ध पूर्ण रूपमा बिग्रिन नदिने प्रयास गरिरहेका छन् ।

ट्रम्पले बारम्बार सी जिनपिङसँगको व्यक्तिगत सम्बन्ध राम्रो रहेको दाबी गर्दै आएको छ । “राष्ट्रपति सीसँग मेरो धेरै राम्रो सम्बन्ध छ । उनलाई थाहा छ, म द्वन्द्व चाहन्नँ”, ट्रम्पले भने ।

सन् २०१७ यता चीन आर्थिक र सामरिक रूपमा अझ आत्मविश्वासी बनेको छ भने ट्रम्प प्रशासन इरान युद्ध र विश्वव्यापी तनावबीच दबाबमा परेको देखिन्छ ।

उता चीनको अर्थतन्त्र पनि चुनौतीरहित छैन । कमजोर घरेलु माग, सुस्त उपभोग र रियल स्टेट क्षेत्रमा जारी ऋण सङ्कटले बेइजिङमाथि आर्थिक दबाब बढाइरहेको छ । यही अवस्थामा हुन लागेको ट्रम्प–सी शिखर वार्ताले विश्व राजनीति र अर्थतन्त्रमा नयाँ दिशा दिन सक्ने आकलन गरिएको छ । रासस

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु