global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

महोत्तरी । यहाँका बस्तीबस्तीमा नीलगाई र बँदेलको सङ्ख्या बढेको छ । जिल्लाका मध्य र सुदूरदक्षिणी भेगका बस्तीबस्तीमा बँदेल र नीलगाई निकै बढेका हुन् ।

आहाराको खोजीमा पूर्वपश्चिम राजमार्गका दायाँबायाँ वन क्षेत्रबाट तीनचार वर्ष पहिले मध्य र दक्षिणी भेग झरेका बँदेल र नीलगाईले अब तलतिरकै बस्ती आसपासका झाडी र घारीमा बच्चा जन्माउने र हुर्काउन थालेपछि जिल्लाका मध्य र सुदूरदक्षिणी भेगका बस्तीसम्म यिनको सङ्ख्या निकै बढेको स्थानीय बासिन्दाको भनाइ छ । अहिले जिल्लाको भारतीय सीमावर्ती बस्तीसम्मै नीलगाईका बथान र बँदेलका हुल देखिन थालेका भारतीय सीमावर्ती भेगका जिल्लावासी बताउँछन् ।

“हाम्रो बस्ती वरपर नीलगाई र बँदेल निकै बढेका छन्”, नेपाल–भारत सीमा क्षेत्रसँगै जोडिएको जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डल भन्नुहुन्छ, “केही वर्ष पहिले यता झरेका नीलगाई र बँदेलले अब यतै बच्चा जन्माउने र हुर्काउने गरेपछि यिनको सङख्या निकै बढेको हो ।” वैशाख मध्यपछि हलक्क बढेको उखुघारी र नदीकिनारका काँसघारी यिनको बासस्थान हुने गरेको मण्डलको कथन छ ।

जिल्लाको सुदूर दक्षिणपूर्वी जलेश्वर र मटिहानी नगरपालिका क्षेत्रमात्र नभई दक्षिणको मध्यवर्ती एकडारा, मनराशिश्वा एवं सुदूरदक्षिणपश्चिमवर्ती सम्सी र सोनमासहितका स्थानीय तहका बस्ती नजिक नीलगाईको बथान र बँदेलका झुण्ड देखिन्छन् । दिनभरि उखु र काँसघारीमा लुकेर रातभरि बालीनाली सखाप पार्ने बँदेल र नीलगाईको उपद्रवले आफूहरू हैरान भएको सम्सी–६ का ४० वर्षीय इम्तियाज अहमद बताउछन ।

पछिल्ला चारपाँच वर्षदेखि वन क्षेत्रबाट निकै तल झरेका बँदेल र नीलगाई विस्तारै यतै रतिदै गएर मान्छेसँग डराउन छाडेका सर्वसाधारण बताउँछन् । “देखेर हाहो गर्दा हुलमा रहेका नीलगाई भाग्नसट्टा ठिङ्ग उभिएर मान्छेतिरै हेर्छन्, दुईचार जना जम्मा भएर लघार्दा बल्ल भाग्छन्”, रामगोपालपुर–२ महनपुरका ६० वर्षीय किसान कादिर हुसैन भन्छन “यी जन्तुको डरले महिलाहरू बस्तीबाट अलि टाढाको खेतबारी हिँड्न पनि छाडेका छन् ।” नीलगाईले आक्रमण नै हम्मेसी नगरे पनि बँदेल लघार्न भने निकै डरमर्दो भएको यस भेगका किसानको भनाइ छ । यी सबै बस्ती पूर्वपश्चिम राजमार्ग दायाँबायाँको वन क्षेत्रबाट ३० देखि ४५ किलोमिटरको दूरीमा छन् ।

मध्य वैशाखदेखि फागुनसम्म यिनको बास धेरैजसो उखुघारी रहने गरेको छ । मङ्सिरदेखि फागुन मसान्तसम्म उखु काट्ने बेला हुँदा यी जन्तु उखु नकाटिएको ठाउँ सर्दै बास बस्ने र चैतदेखि मध्य वैशाखसम्म नदीकिनारका काँसघारी, बुट्यानका झाडी र सघन वृक्षरोपण गरिएका ठाउँमा सर्दै बस्ने गरेका पाइएको भङ्गाहा–४ रामनगरका ८० वर्षीय दीपबहादुर फुँयाल बताउछन ।

“अब यी जङ्गली जन्तु नै रहेनन्झैँ लाग्छ, यतै मजाले रतिएका छन्”, फुँयाल भन्ठन “दिनभरि खासै देखिँदैनन्, राति सधैँ रुङ्न सकिदैन, यिनको उपद्रोले राम्ररी कुनै बाली लिन पाइएको छैन ।” आफूले पछिल्ला पाँच वर्षयता भर्खर हुर्केकादेखि वयस्कसम्मका बँदेल बस्ती वरपर देखेको उनको भनाइ छ । भङ्गाहा–४ को यो बस्ती वन क्षेत्रबाट करिब २२ किलोमिटर दक्षिणमा छ ।

वनक्षेत्रमा आहारा र पानीको अभावसँगै सिकारीको आखेटले तलतिर झरेका नीलगाई र बँदेलले यी बस्तीमा प्रशस्त हरियो बालीनाली भेट्टाएपछि वन बिर्संदै गएर यतै रमेका औरही–१ का चन्देश्वर यादवको भनाइ छ । यी वन्यजन्तुलाई लाठी देखाएर लघार्नभन्दा राती खेतबारीमा ठाउँठाउँमा राँको बाल्ने, बिजुलीको प्रबन्ध गर्ने र ठाउँठाउँमा पुतला बनाएर बाली लगाइएको खेतमा जान डराउने बनाउन सकिने उनको सुझाव छ ।

 

प्रकाशित समय : १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु