गृहपृष्ठ गोकुले माविमा नर्सको सेवा सुरु
गोकुले माविमा नर्सको सेवा सुरु
प्रदेश नं ३ सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई अगाडि सारेसँगै महाभारत गाउँपालिका-१ गोकुलेस्थित गोकुले माविमा नर्सद्वारा सेवा सुरु गरिएको छ ।
प्रदेश नं ३ सरकारले एक विद्यालय एक नर्सको अभियान थालनी गरेपछि अहिले नमुनाका रूपमा एक पालिकाभित्रको एउटा माध्यमिक विद्यालयमा एक जना नर्सको व्यवस्था गरेर सेवा थालनी गरिएको हो । सोहीअनुरूप महाभारत गाउँपालिकाले गोकुले माविमा एक महिना अगाडिदेखि नर्स नियुक्त गरिसकिएको छ । नर्स एञ्जिला श्रेष्ठले गत कात्तिक २० गतेदेखि नियुक्ति पाएर काम सुरु गरेको बताइन् ।
नमुनाका रूपमा उक्त विद्यालयमा सुरु भएको अभियानमा अहिले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका लागि दैनिक परामर्श दिन थालेको उनले बताइन् । ‘स्वास्थ्यबारे सचेत गराउनुका साथै खानपिनमा विशेषगरी ‘जंक फुड’ नखान विद्यार्थीलाई कक्षामा प्रशिक्षण दिने तयारीमा छु,’ उनले भनिन् ।
त्यससँगै मनोवैज्ञानिक रूपमा ‘काउन्सिलिङ’ गर्नुपर्ने भएकाले त्यस विषयमा पनि बिस्तारै प्रक्रिया अगाडि बढाइरहेको श्रेष्ठले बताइन् । उनले अहिले दाँत सफा गर्न सल्लाह दिने, कपाल नकोरी विद्यालय आउनेलाई सुझाव दिने र हात धुने तरिकादेखि पूर्ण सरसफाइमा ध्यान दिने खालका सिकाइमा केन्द्रित भएको बताइन् । साना कक्षाका विद्यार्थीलाई आफैँले प्रदर्शन गरेर देखाउने र गरिसकेका विद्यार्थीलाई उदाहरणका रूपमा प्रस्तुत गरेर स्वच्छ र पूर्ण सरसफाइमा उत्प्रेरित गराउने काम गर्दै आएको श्रेष्ठको भनाइ छ ।
उनले विद्यार्थीको हातखुट्टालगायत शरीरका विभिन्न ठाउँमा आएका घाउ खटिराको ‘ड्रेसिङ’ गर्ने काम पनि गर्दै आएकी छन् । अरू थप उपचारलगायतका सामग्री भने गाउँपालिका स्वास्थ्य शाखाबाट गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन हुन बाँकी रहेको उनले बताइन् ।
विद्यालयका प्रधानाध्यापक पदम तिमल्सिनाले सामग्री प्राप्त नभइन्जेलसम्मका लागि विद्यालयमा नै भएको प्राथमिक उपचार बाकसमा भएका सामग्री प्रयोग गरिएको बताए । स्वास्थ्यसम्बन्धी प्रशिक्षणका कक्षा सञ्चालन गरेको उनले बताए ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विद्यालयमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी सामग्री छिट्टै उपलब्ध गराउने तयारी भइरहेको बताए । ‘प्रदेश सरकारबाट नर्सको व्यवस्था भइसकेको छ, अब हामी पालिकाबाट गर्नुपर्ने औषधि उपकरणको व्यवस्थापनको काममा छिट्टै लाग्नेछौँ,’ जिम्बाले भने । (रासस)
प्रकाशित समय : २०:१३ बजे




















