काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

364
shares

ai logo सारांश

  • दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत।
  • ग्रीनसिफ्ट नेपालबाट पाँच उद्यमीलाई ५ लाख ७४ हजारदेखि ७ लाखसम्म अनुदान।
  • वातावरणमैत्री व्यवसाय र चक्रीय अर्थतन्त्र प्रवर्द्धनमा जोड।

काठमाडौं । दिगो प्याकेजिङ र हरित व्यवसाय प्रवर्द्धनमा नवीन समाधान प्रस्तुत गर्ने पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत भएका छन्। युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रीनसिफ्ट नेपाल’ परियोजनाअन्तर्गत बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पाँच उद्यमीलाई पुरस्कृत गरिएको हो।

हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागमती प्रदेशको रि अप स्टुडियो, लुम्बिनीको इकोदोस्ती प्रालि र मधेशको कुशवाहा बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म विजेता बनेका छन्। उनीहरूले जनही ५ लाख ७४ हजार रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्।

त्यस्तै, दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत ए.वि. बायोडिग्रेडेबल प्रडक्ट प्रालि र छाहारी फार्म प्रालि विजेता बनेका छन्। दुवै संस्थाले जनही ७ लाख रुपैयाँ बराबरको अनुदान पाएका छन्।

आयोजकका अनुसार व्यावसायिक सम्भावना, नवीनता र दिगो विकासमा पुर्‍याउन सक्ने योगदानका आधारमा निर्णायक मण्डलले विजेता छनोट गरेको हो।

पुरस्कार वितरणअघि अक्टोबर ६ र ७ मा आयोजित दुईदिने आवासीय बुट क्याम्पमा सहभागीलाई व्यावसायिक अवधारणा परिष्कृत गर्न, प्रभावकारी प्रस्तुति तयार पार्न तथा लगानी र बजारका सम्भावनासँग जोडिन प्रशिक्षण दिइएको थियो। अन्तिम चरणमा हरित व्यवसाय प्रवर्द्धन कार्यक्रमका १३ र दिगो प्याकेजिङ कार्यक्रमका आठ गरी २१ सहभागीले आफ्ना व्यावसायिक विचार प्रस्तुत गरेका थिए।

क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले चक्रीय अर्थतन्त्रलाई व्यवहारमा उतार्ने उद्यमीहरूको प्रतिबद्धता नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताइन्। कार्यक्रम निर्देशक सुजाता कोइरालाले प्याकेजिङजन्य फोहोरको असर न्यूनीकरण गर्न वातावरणमैत्री विकल्पलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

ग्रीनसिफ्ट नेपाल परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापन, स्रोतको पुनःप्रयोग, वातावरणमैत्री प्याकेजिङ सामग्रीको विकास र हरित उद्यमशीलता प्रवर्द्धनमा जोड दिँदै आएको छ।