काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बालबालिकाको वर्षमा एकपटक आँखा जाँच्न तिलगंगाको सुझाव

325
shares

ai logo सारांश

  • बालबालिकाको वर्षमा एकपटक आँखा जाँच्न तिलगंगाको सुझाव।
  • आँखाका समस्या समयमै पहिचान गर्न अभिभावकलाई आग्रह।
  • बालबालिकाको दृष्टि जोगाउन नियमित परीक्षणमा जोड।

काठमाडौं । बालबालिकामा देखिने दृष्टिदोष तथा आँखासम्बन्धी गम्भीर समस्या समयमै पहिचान गर्न सके दृष्टि गुम्नबाट बचाउन सकिने भन्दै तिलगंगा आँखा प्रतिष्ठानले अभिभावकलाई नियमित आँखा परीक्षण गराउन आग्रह गरेको छ।

विश्व दृष्टि दिवस २०२६ को अवसरमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले बालबालिकाको आँखाको स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्दै जन्मिएको एक महिनाभित्र, विद्यालय भर्ना गर्नुअघि र त्यसपछि प्रत्येक वर्ष आँखा जाँच गराउन सुझाव दिएको हो।

‘आफ्नो आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने नारासहित प्रतिष्ठानले साताव्यापी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको जनाएको छ।

प्रतिष्ठानका अनुसार विश्वभर करिब दुई अर्ब २० करोड मानिस कुनै न कुनै प्रकारको दृष्टि दुर्बलताबाट प्रभावित छन्। तीमध्ये करिब एक अर्ब मानिसको दृष्टिसम्बन्धी समस्या रोकथाम गर्न वा उपचारबाट सुधार गर्न सकिने अवस्था छ। नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशतमा अन्धोपना रहेको छ भने ५० वर्षमाथिका नागरिकमा यो दर १.०५ प्रतिशत छ।

मोतीबिन्दु, दृष्टिदोष, जलविन्दु र मधुमेहका कारण हुने आँखासम्बन्धी समस्या अन्धोपना तथा गम्भीर दृष्टिदोषका प्रमुख कारण हुन्। पछिल्लो समय प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकाको आँखाको स्वास्थ्यमा पनि चुनौती थपिँदै गएको प्रतिष्ठानले जनाएको छ।

समयअगावै जन्मिएका शिशुमा देखिने रेटिनोपेथी अफ प्रिम्याच्युरिटी, जन्मजात मोतीबिन्दु, जलविन्दु तथा आँखाको क्यान्सरजस्ता समस्या समयमै पहिचान गर्न सके दृष्टि गुम्नबाट बचाउन सकिन्छ।

बच्चाको आँखा रातो हुने, डेढो देखिने, धमिलो देख्ने, निरन्तर आँसु बग्ने वा आँखाको कालो भागमा सेतो दाग देखिने जस्ता लक्षणलाई बेवास्ता नगर्न प्रतिष्ठानले आग्रह गरेको छ। यस्ता लक्षण देखिए तत्काल आँखा अस्पताल वा उपचार केन्द्रमा जाँच गराउनुपर्नेमा जोड दिइएको छ।

विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले विद्यालय तथा समुदायमा आँखा परीक्षण शिविर, सचेतनामूलक र्‍याली र स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ। शिविरमार्फत निःशुल्क औषधि तथा चश्मा वितरण गर्नुका साथै आवश्यक बिरामीको निःशुल्क मोतीबिन्दु शल्यक्रियासमेत गरिएको प्रतिष्ठानले जनाएको छ।

बालबालिकाले आँखामा समस्या भएको कुरा आफैं भन्न नसक्ने भएकाले अभिभावकले उनीहरूको व्यवहार र आँखामा देखिने असामान्य लक्षणमा ध्यान दिन आवश्यक छ। नियमित परीक्षण र समयमै उपचारले दृष्टिसम्बन्धी समस्या पहिचान गर्न तथा सम्भावित अन्धोपना रोक्न महत्वपूर्ण भूमिका खेल्ने प्रतिष्ठानको भनाइ छ।