काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

1.74K
shares

ai logo सारांश

  • पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन् ।
  • प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको उपचार हुने गरेको छ ।
  • गोमन, करेत, भाइपर र राजगोमनलगायत विषालु सर्प पाइन्छन् ।

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा सबैभन्दा धेरै सर्पदंशका घटना कावासोती नगरपालिकामा भएका छन् । कावासोतीमा मात्रै १७४ जनालाई सर्पले डसेको छ ।

गत साउन र भदौमा विनयी त्रिवेणी गाउँपालिकामा ८३, देवचुली नगरपालिकामा १०, बौदीकाली गाउँपालिकामा आठ तथा बुलिङटार गाउँपालिकामा दुई जनालाई सर्पले डसेको उनले जानकारी दिए । अत्यधिक गर्मी र वर्षायामका कारण साउन र भदौमा सर्पदंशका घटना तुलनात्मक रूपमा बढी हुने गरेको कार्यालयले जनाएको छ ।

जिल्लाको मध्यविन्दु प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको उपचार हुने गरेको छ । सघन उपचार कक्ष (आईसीयू) आवश्यक पर्ने बिरामीलाई भने चितवन पठाउने गरिएको छ । अन्य बिरामीको उपचार जिल्लाकै स्वास्थ्य संस्थामा हुने गरेको छ ।

चापागाईंका अनुसार जिल्लामा गोमन, करेत, भाइपर र राजगोमनलगायत विषालु सर्प पाइन्छन् ।

यसैबीच, साउन र भदौमा जिल्लामा जनावरको टोकाइबाट दुई हजार ७७ जना घाइते भएका छन् । कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेर उनीहरू घाइते भएका हुन् ।

जनावरको टोकाइका घटना पनि कावासोतीमा सबैभन्दा धेरै भएका छन् । कावासोतीमा मात्रै एक हजार ५५१ जना जनावरको टोकाइबाट घाइते भएका छन् । यस्तै, देवचुलीमा ३१२, विनयी त्रिवेणीमा १६४, गैँडाकोटमा २९, बुलिङटारमा १२, बौदीकालीमा पाँच तथा मध्यविन्दु र हुप्सेकोटमा दुई–दुई जना घाइते भएका छन् ।

चापागाईंका अनुसार जिल्लामा बर्सेनि १० हजारभन्दा बढी मानिस जनावरको टोकाइबाट घाइते हुने गरेका छन् । रेबिजविरुद्धको खोप पर्याप्त मात्रामा उपलब्ध रहेकाले जनावरको टोकाइबाट घाइते भएकाको उपचारमा सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ।