काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

351
shares

भद्रपुर । सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।

सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत पालिकासँग सीमा जोडिएका तथा आवतजावतका लागि प्रयोग हुने स्थानको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे समितिले जानकारी लिएको हो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले सदरमुकामबाट भौगोलिक रूपमा टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन अनुगमन गरिएको बताए । मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गमा हुनसक्ने अवैध ओसारपसार तथा तस्करीलाई सुक्ष्म रूपमा निगरानीमा राखिएको उनले बर्ताए।

इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ अवैध निकासी हुनसक्ने सम्भावनालाई मध्यनजर गरी संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको हो । यसबाट सम्भावित राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने अवैध वस्तुको ओसारपसार, सीमा अपराध रोक्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

“मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो”, उनले भने ।

उनका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध गतिविधिको सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती तथा ‘पेट्रोलिङ’ प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

सीमावर्ती क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटले अवैध गतिविधि नियन्त्रणका लागि गरेका प्रयास, सुरक्षा उपस्थिति, गस्ती तथा कारबाहीको अवस्थाबारे प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था मूल्याङ्कन गरी आवश्यक रणनीति तय गरिने प्रजिअ पोखरलले जनाए ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता थियो ।

प्रजिअ पोखरेलका अनुसार नजिकिँदै गरेको चाडपर्वका समयमा सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसतर्फ थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।