चितवन । आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । भरतपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हिमाल गिरीले आँखाको स्वास्थ्यका लागि विशेषगरी ४० वर्ष उमेर पुगेपछि नियमित परीक्षण आवश्यक रहेको बताएका छन ।
उनले भने, “आँखालाई सुरक्षित नियमित जाँच गरी समस्या पहिचान गर्नु प्रमुख आवश्यकता हो ।” उनका अनुसार उच्च रक्तचाप, मधुमेह र थाइराइडजस्ता रोगले आँखामा असर पार्न सक्ने भएकाले त्यस्ता समस्या भएका व्यक्तिले नियमित आँखा परीक्षण गराउनुपर्छ ।
आँखामा चोटपटक लाग्न सक्ने जोखिमयुक्त काम गर्ने व्यक्तिले सुरुदेखि सावधानी अपनाउनुपर्नेमा डा गिरीले जोड दिए। वेल्डिङलगायत काम गर्दा आँखामा चोट लागेमा घरमै बसेर उपचार गर्ने, आँखामा पानी छ्याप्ने वा मेडिकलबाट औषधि किनेर प्रयोग गर्नुभन्दा तत्काल आँखा उपचार केन्द्र वा अस्पतालमा सम्पर्क गर्न उनले सुझाव दिए ।
हाल मौसमी परिवर्तनका कारण हुने सिजनल एलर्जीबाट आँखामा चिलाउने, रातो हुने तथा आँसु आउने समस्या देखिन सक्ने उनले बताए । आँखा पाक्ने रोग सरुवा हुने भएकाले सङ्क्रमित व्यक्तिले प्रयोग गर्ने रुमाल, तौलिया, सिरानीलगायत व्यक्तिगत सामग्री अरूले प्रयोग गर्न नहुने उनको सुझाव छ ।
भरतपुर आँखा अस्पतालबाट तीन लाखभन्दा बढीलाई सेवा
नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत वर्ष आफ्ना विभिन्न सेवा केन्द्रमार्फत तीन लाखभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ ।
अस्पतालका बाह्य कार्यक्रम संयोजक एवं सूचना अधिकारी रमेश घिमिरेका अनुसार नेपाल नेत्रज्योति सङ्घका देशभर ४४ शाखामार्फत २८ वटा आँखा अस्पताल सञ्चालनमा छन् । चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विशेष सेवासहितको केन्द्रीयकृत आँखा अस्पताल हो ।
भरतपुरस्थित मुख्य अस्पतालमा दैनिक ७०० देखि ८०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका जनाउँदै दैनिक ३० देखि ४० जनासम्मको आँखाको शल्यक्रिया हुने गरेको बताए । भरतपुरको ओरालोमा रहेको सिटी क्लिनिकबाट नेत्ररोग विशेषज्ञसहितको टोलीले दैनिक १०० देखि १५० जनासम्मलाई सेवा दिँदै आएको उनले जानकारी दिए ।