गृहपृष्ठ प्रहरी र ‘जेनजी’ युवाको अगुवाइमा कटहरिया बजार सरसफाइ
प्रहरी र ‘जेनजी’ युवाको अगुवाइमा कटहरिया बजार सरसफाइ
रौतहट । रौतहटको कटहरिया बजारमा प्रहरी र ‘जेनजी’ युवाको समूहले संयुक्त रूपमा बजार सरसफाइ तथा व्यवस्थापन अभियान सञ्चालन गरेको छ।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) जयप्रकाश साहको नेतृत्वमा प्रहरी टोली तथा युवाहरूले बजार क्षेत्रमा सरसफाइ गरेका हुन्। कार्यक्रममा सई साह, युवा नेता सोनु कुशवाहा, राजबाबु साह, दिपु साह, ओमजी साहलगायत युवाको सहभागिता थियो।
नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार व्यवस्थापन, सरसफाइ तथा शान्ति–सुरक्षासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रमका क्रममा बजारलाई व्यवस्थित बनाउन व्यवसायी तथा स्थानीयवासीलाई पसलका सामान नालाभन्दा भित्रपट्टि राख्न, नाला तथा सडक अतिक्रमण नगर्न र सडक किनार खुला राख्न आग्रह गरिएको छ। त्यसैगरी सवारीसाधन पार्किङका लागि पर्याप्त स्थान छाड्न तथा बजारको सरसफाइमा सबैले सहयोग गर्न अनुरोध गरिएको छ।
प्रहरीको प्रयास मात्रै पर्याप्त छैन
कटहरिया बजारमा सडक तथा नाला अतिक्रमण, अव्यवस्थित पार्किङ र जथाभावी सामान राख्ने प्रवृत्तिले बजारको सौन्दर्यसँगै सर्वसाधारणको आवागमनमा समेत समस्या सिर्जना गर्दै आएको छ। यस्तो अवस्थामा प्रहरी र युवाको संयुक्त सरसफाइ तथा जनचेतनामूलक अभियान सकारात्मक सुरुवात भए पनि यसको प्रभाव दीर्घकालीन बनाउन निरन्तर अनुगमन र बजारवासीको सक्रिय सहयोग आवश्यक देखिन्छ।
बजार व्यवस्थित बनाउने जिम्मेवारी प्रहरी प्रशासनको मात्र नभई व्यवसायी, स्थानीयवासी र सम्बन्धित स्थानीय तहको समेत भएकाले सबै पक्षबीच समन्वय हुन सके कटहरिया बजारलाई सुरक्षित, सफा र व्यवस्थित बनाउन सकिने देखिन्छ।
प्रकाशित समय : १३:३९ बजे


















