गृहपृष्ठ राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग

राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग

राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग राष्ट्रियसभा बैठक काठमाडौँ, १५ असोजः सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बिहीबार बसेको राष्ट्रियसभाको बैठक । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ। सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै उनीहरूले जबरालाई नियन्त्रणमा लिइएको घटनाको कारण, कानुनी आधार र सरकारको धारणा संसद्मार्फत स्पष्ट गर्न सभाअध्यक्षमार्फत माग गरे ।

सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सभाध्यक्षमार्फत सरकारसँग स्पष्ट जवाफ माग गरे ।

सांसद महन्थ ठाकुर र रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीप्रति विरोध जनाए । उनीहरूले यसबारे गृहमन्त्रीले सदनमार्फत स्पष्ट जवाफ दिनुपर्ने उनीहरूको माग थियो ।

पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते राति काठमाडौँको महाराजगञ्जस्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिनुको कारण तत्काल सार्वजनिक नगरेको भन्दै सभा सदस्यहरूले उनलाई सोधपुछपछि घरमै सुरक्षा दिनेगरी छाडिएको सार्वजनिक विवरणबारे सरकारसँग जानकारी माग गरेको हो ।

बैठकमा सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे । धमेन्द्र पासवानले रौतहटमा होचो बाँधका कारण समस्या हुने गरेको भन्दै अग्लो तटबन्ध निर्माण गर्न माग गरे ।

सांसद मीना सिंह रखालले कर्णालीका सडक जोखिमपूर्ण रहेकाले दुर्घटना न्यूनीकरणका लागि सडक तथा पुल निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद रेखाकुमारी झाले वर्षायाममा हुने बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण तथा प्रभावित नागरिकलाई सुरक्षित बासस्थान र पुनःस्थापनाको व्यवस्था गर्न माग गरिन् । सांसद रोशनी मेचेले मोबाइल बैंकिङलाई सुरक्षित बनाउन तथा बैंकिङ प्रणालीमार्फत नागरिकको सम्पत्तिको सुरक्षामा जिम्मेवार बन्न माग गरिन् ।

सांसद सम्झना देवकोटाले गोरखामा प्राकृतिक विपद्सँगै हिमपातका कारण पर्यटकले सास्ती खेप्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद सोमनाथ पोर्तेलले झापामा जङ्गली हात्तीका कारण किसानको धानबालीमा वर्षेनि क्षति भइरहेको भन्दै पर्याप्त क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । सभाको बैठक जारी छ ।

 

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु