गृहपृष्ठ पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी
पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी
भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै गएको छ। आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यसहित गाउँपालिकाले यस क्षेत्रको विकास गरिरहेको छ।
यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप मजबुत बनाउने उद्देश्यले कोटगढी परिसरमा पदमार्गसँगै मन्दिर निर्माण गरिएको छ। पदमार्ग र मन्दिर निर्माणपछि आन्तरिक पर्यटक, धार्मिक श्रद्धालु तथा इतिहासप्रेमीको आवागमन बढेको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासी सन्तोष कोइरालाले कोटगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासपछि यसको पहिचान थप उजागर हुन थालेको बताए। यसले नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र पहिचानबारे जानकारी गराउने अवसर समेत प्रदान गरेको उनको भनाइ छ।
आगामी दिनमा थप पूर्वाधार, विश्रामस्थल तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्न सके कोटगढी क्षेत्र भोजपुर जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने कोइरालाले बताए।
गाउँपालिका केन्द्र नजिकै अवस्थित कोटगढी क्षेत्रमा पुग्न सहज पहुँच सुनिश्चित गर्न गाउँपालिकाले यसअघि ३५ लाख रुपैंयाँ बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहितको पदमार्ग निर्माण गरेको हो।
स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनका लागि दुईतर्फबाट सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ।गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्न गाउँपालिकाले विशेष ध्यान दिएको बताइन्।
“कोटगढी आफैमा ऐतिहासिक क्षेत्र हो,” उपाध्यक्ष राईले भनिन्, “हामीले यस क्षेत्रको विकासमा जोड दिएका छौं।” गाउँपालिका अध्यक्ष किरण राईले पौवादुङमा गाउँपालिकाभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिकस्थलहरूको एकीकृत विकासमा जोड दिइएको जानकारी दिए। यहाँका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि योजनाबद्ध रूपमा काम भइरहेको उनको भनाइ छ।
“गाउँपालिकाभित्र रहेका सम्भावनायुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा विकास गर्ने नीति लिइएको छ,” अध्यक्ष राईले भने, “कोटगढी जस्ता ऐतिहासिकस्थलको संरक्षणले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिएका छौं।”
प्रकाशित समय : ११:४६ बजे


















