गृहपृष्ठ जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सुरु
जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सुरु
धनगढी । धनगढी उपमहानगरपालिकामा आजदेखि जापानिज इन्सेफ्लाइटिस (जेई)विरुद्धको खोप अभियान सुरु भएको छ ।
उक्त इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिकाका १९ वटै वडामा खोप अभियान सुरु गरिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख योगेशकुमार अवस्थीले जानकारी दिए ।
उनका अनुसार ३० वर्ष वा सोभन्दा माथिका उमेर समूहका एक लाख तीन हजार नागरिकलाई खोप लगाउने लक्ष्य रहेको छ । उक्त अभियान यही असोज २२ गतेसम्म सञ्चालन हुने छ ।
इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिमको पक्षलाई ख्याल गर्दै रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको प्रमुख अवस्थीले बताए । उक्त अभियानका लागि खोप लगाउन १२४ केन्द्र स्थापना गरिएका छन् ।
जापानिज इन्सेफ्लाइटिस (जेई) भाइरसबाट हुने गम्भीर सङ्क्रमण हो । उक्त भाइरस मुख्यतः सङक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सरेपछि ज्वरो आउने, टाउको दुख्ने, शरीर कम्पन्न हुने, बेहोस हुने, स्नायु प्रणालीमा समस्या हुनेलगायत लक्षण देखा पर्ने गरेको चिकित्सको भनाइ छ ।
उक्त रोगको सङ्क्रमण भई निको भइसकेका व्यक्तिमा पनि पछि ज्वरो आउने, सुस्तमनस्थिति हुने, शरीर कम्पन्न हुने, बरबराउँने लगाएतका समस्या देखिने गरेको बताउँदै प्रमुख अवस्थीले उनले भने, “यो रोग लागि सकेपछि मानिसको स्वास्थ्यमा बढी जटिलता देखिने गरेको छ ।”
उपमहानगरपालिकाभित्र हालसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण भएका चार जना व्यक्ति फेला परेका छन् । उपमहानगरपालिकाले लक्षित उमेर समूहका सबै नागरिकलाई अभियानमा सहभागी भई जेईविरुद्धको खोप लगाउन आग्रहसमेत गरेको छ ।
प्रकाशित समय : १८:०१ बजे


















