गृहपृष्ठ पशुबाट मानव जातिसम्म सङ्क्रमण पुग्न सक्ने भएकाले गहिरो अध्ययन आवश्यक : सांसद बास्कोटा

पशुबाट मानव जातिसम्म सङ्क्रमण पुग्न सक्ने भएकाले गहिरो अध्ययन आवश्यक : सांसद बास्कोटा

पशुबाट मानव जातिसम्म सङ्क्रमण पुग्न सक्ने भएकाले गहिरो अध्ययन आवश्यक : सांसद बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिक्षा बास्कोटाले पशुमा देखिने सङ्क्रामक रोग मानव जातिसम्म पुग्न सक्ने भएकाले त्यसको नियन्त्रणका लागि गहिरो अध्ययन आवश्यक रहेको बताएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै सांसद बास्कोटाले पशुमा सुरु हुने सङ्क्रमणले सम्पूर्ण मानव जातिमा ठूलो असर पार्न सक्ने विषय कोभिड–१९ ले देखाइसकेको बताइन् ।

उनले भनिन्, ‘हामीले सङ्क्रमण पशुबाट सुरु भएर सम्पूर्ण मानव जातिलाई नै यसले एउटा ठूलो असर गर्नेसम्म पुर्याउँछ, त्यो हामीले कोभिड–१९ मा देखेका, भोगेका विषयहरू नै भए । भनेपछि हामी त्यहाँसम्म पशुसँग रिलेटेड विषय यो पूर्ण मानव जातिसम्म पनि पुग्छ भनिसकेपछि त्यो लेभलको हाम्रो डेप्थ स्टडीहरू चाहिन्छ भन्ने कुरामा हामीले क्लियर हुनुपर्यो।’

कृषि र पशुपालन अर्थतन्त्रका आधारभूत खम्बा भएकाले त्यसअनुसार व्यावसायिक पक्षसहितका विषयमा गहिरो छलफल गरेर कानुन बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘कृषि र पशुपालन यी अर्थतन्त्रका आधारभूत खम्बा हो कि होइनबाट नै हामीले बहस सुरु गर्नुपर्छ जस्तो लाग्छ। यदि हामीले कृषि र पशुपालन चाहिँ अर्थतन्त्रको दरिलो आधारभूत एउटा खम्बा हो भनेर मान्ने हो भने, त्यही अनुसारको व्यावसायिक पाटोदेखि लिएर धेरै विषयमा हामीले एकदमै डिप डाउन गएर छलफल गरिन्छ र त्यसरी नै हामीले नियम कानुनहरू बनाउनुपर्छ भन्ने लाग्छ ।’

सांसद बास्कोटाले विधेयक मौलिक हकसँग समेत जोडिएको बताउँदै खाद्य, उपभोक्ता, स्वास्थ्य र स्वच्छ वातावरणको हकसँग यसको सम्बन्ध रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘यो सैद्धान्तिक रूपमा भन्दा मौलिक हकसँग जोडिएका धेरै विषयहरू यससँगै जोडिएका छन् । जस्तो खाद्य सम्बन्धीको हक, उपभोक्ता सम्बन्धीको हक, स्वास्थ्य सम्बन्धीको हक र स्वच्छ वातावरण सम्बन्धीको हक पनि ।’

कानुनको व्याख्या गर्दा कानुन निर्माताको उद्देश्य र दूरदर्शितालाई समेत ध्यान दिनुपर्ने उनले बताइन् । २०४७ सालको संविधानले स्वच्छ वातावरणको हक सुनिश्चित नगरे पनि गोदावरी मार्बल मुद्दामा सर्वोच्च अदालतको फैसलामार्फत वातावरणको अधिकारलाई जीवनको अधिकारसँग जोडेर व्याख्या गरिएको उदाहरण उनले प्रस्तुत गरिन् ।

उनले भनिन्, ‘इन्टरप्रिटेसन अफ लमा दूरदर्शिता देखियो भने त्यसले नयाँ नयाँ विषयहरूलाई पनि समेटेर जान सक्दो रहेछ, त्योमा पनि सचेत हुनलाई मैले यहाँ ध्यानाकर्षण गर्न चाहेँ ।’

पशुजन्य उत्पादनको प्रवर्धन र निर्यातका लागि क्वारेन्टाइन तथा प्रयोगशाला पूर्वाधार आवश्यक रहेको पनि उनले बताइन् । पश्मिना र छुर्पीजस्ता उत्पादनको व्यावसायिक प्रवर्धनमा नेपाल अझै अघि बढ्न नसकेको उनको भनाइ थियो ।

उनले भनिन्, ‘पश्मिनाले कलेक्टिभ मार्क दर्ता गरेको छ प्राइभेट सेक्टरले। छुर्पी सायद सम्भवतः गएको वर्ष मात्र २००० प्लस टन चाहिँ डग च्युको रूपमा एक्सपोर्ट भएको छ । तर क्वारेन्टाइनको समस्या धेरै देशहरूमा हुन्छ, र त्यसको हामीसित क्वारेन्टाइनको व्यवस्था पनि छैन, प्रयोगशालाको पनि छैन।’

विभिन्न रोगका कारण पशुपालनमा संलग्न किसान विस्थापित भएको उल्लेख गर्दै त्यस्ता किसानको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उनले उठाइन्। उनले भनिन्, ‘विभिन्न रोगको कारणले गर्दा किसानहरू, पशुपालनमा रहेका किसानहरू विस्थापित भएका छन्। यसको जिम्मा कसले लिन्छ?’

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु