गृहपृष्ठ प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै ‘हतुवागढी गाउँपालिका’

प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै ‘हतुवागढी गाउँपालिका’

प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै ‘हतुवागढी गाउँपालिका’

भोजपुर । भोजपुरको दक्षिण क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले स्थानीय किसानको आयआर्जन बढाउँदै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रविधिमैत्री तरकारीखेतीमा जोड दिएको छ । परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गर्दै आधुनिक प्रविधि, नयाँ ज्ञान र व्यावसायिकतातर्फ किसानलाई आकर्षित गर्न गाउँपालिकाले अनुदान, प्राविधिक सहयोगका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले कृषि क्षेत्रको चौतर्फी विकास र स्थानीय किसानको जीवनस्तर सुधारका लागि विशेष ध्यान दिँदै अघिल्लो आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरेर ६२ वटा प्लास्टिक टनेल निर्माणमा किसानलाई अनुदान सहयोग उपलब्ध गराएको थियो । मौसमी तथा बेमौसमी तरकारीखेतीका लागि प्लास्टिक टनेल निकै उपयोगी र प्रभावकारी हुने भएकाले किसानकै माग र आवश्यकताका आधारमा यो सहयोग उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख ज्योति देवानले जानकारी दिइन ।

त्यसैगरी, तरकारीखेतीका लागि सिँचाइ सुविधालाई सहज, दिगो र व्यवस्थित बनाउन गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा चार लाख बजेट विनियोजन गरी १७ वटा प्लास्टिक पोखरी निर्माण गरेको शाखा प्रमुख देवानले बताइन । यो आधुनिक प्रविधिबाट वर्षाको पानी सङ्कलन गरी सुक्खा याममासमेत सहज रूपमा सिँचाइ गर्न सकिने भएकाले किसानलाई बाह्रैमास तरकारीखेती गर्न राहत मिलेको छ ।

चालु आवमा पनि गाउँपालिकाले किसानलक्षित कार्यक्रमलाई थप प्रभावकारी र व्यापक रूपमा निरन्तरता दिने भएको छ । यस आवमा पनि प्लास्टिक टनेल निर्माणका लागि पाँच लाख र प्लास्टिक पोखरी निर्माणका लागि पाँच लाख गरी कुल १० लाख बजेट विनियोजन गरिएको छ । विनियोजित बजेटमार्फत गाउँपालिकाभित्रका थप किसानलाई आधुनिक र प्रविधिमैत्री तरकारीखेतीमा जोड्ने कार्यक्रम सञ्चालन हुने कृषि विकास शाखाले जनाएको छ ।

कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट वास्तविक तथा मिहिनेत गर्ने किसानसम्म पुर्याउन अनुगमन तथा कार्यान्वयनको पाटोमा कडाइ गरिएको गाउँपालिकाले जनाएको छ । किसानको व्यावसायिक योजनाका आधारमा मात्र अनुदान सहयोग वितरण गरिँदै आएको छ ।

बजेटको दुरुपयोग रोक्नका लागि किसानले प्लास्टिक टनेल निर्माणका लागि आवश्यक पर्ने बाँसको संरचना/घर निर्माण र प्लास्टिक पोखरी निर्माणका लागि पोखरीको खाल्डो आफैँ खनेर तयार गरेपछि मात्र अनुदान बजेट उपलब्ध गराउने गरिएको शाखा प्रमुख देवानले जानकारी दिइन । किसान स्वयंको श्रम र लगानी सहभागी भएपछि मात्र अनुदान रकम निकासा हुने भएकाले यो कार्यक्रम थप दिगो, प्रभावकारी र फलदायी बन्ने गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकाबाट आवश्यक अनुदान, प्राविधिक परामर्श र सिँचाइका लागि पूर्वाधार सहयोग प्राप्त भएपछि स्थानीय किसान पनि व्यावसायिक तरकारीखेतीतर्फ निकै उत्साहित भएका छन् । प्लास्टिक टनेलमा बेमौसमी तरकारी उत्पादन गरी स्थानीय तथा बाह्य बजारमा बिक्रीवितरण गर्न सहजता भएको हतुवागढी–६ का स्थानीय किसान जगत राईले बताए ।

किसानलाई तरकारीखेतीका लागि गाउँपालिकाले सञ्चालन गरिरहेको काम प्रभावकारी रहेको उनको भनाइ छ । गाउँपालिकाको यो अभियानले युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्न र स्वदेशमै आत्मनिर्भर बनाई स्वरोजगार बनाउन सहयोग पुर्याउने उनले जानकारी दिए ।

स्थानीयस्तरमै रोजगारीका नयाँ अवसर सृजना गर्दै गाउँपालिकालाई तरकारी उत्पादनका क्षेत्रमा पूर्ण रूपमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिकाले किसानलाई आधुनिक र प्रविधिमैत्री खेतीमा जोड दिएको उनले जानकारी दिए । प्लाष्टिक टनेल र सिँचाइ पोखरी भएपछि किसानले सहज रूपमा तरकारी उत्पादन गर्न सक्ने उनको भनाइ छ ।

“गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउँदै किसानको आर्थिक अवस्था सबल बनाउनु नै हाम्रो मुख्य प्राथमिकता र दायित्व हो”, अध्यक्ष राईले भने, “पुराना र परम्परागत शैलीबाट खेती गर्दा धेरै श्रम र समय लागे पनि सोचेजस्तो प्रतिफल र आम्दानी प्राप्त हुन सक्दैन । त्यसैले हामीले आधुनिक प्रविधिमा आधारित व्यावसायिक तरकारीखेतीमा विशेष जोड दिएका हौँ ।

आगामी दिनमा पनि किसानको आवश्यकता र बजारको मागका आधारमा अनुदान, प्राविधिक तालिम, बीउबिजन र आधुनिक औजार हस्तान्तरणका कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी बनाउने लक्ष्य रहेको अध्यक्ष राईले जानकारी दिए।

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु