गृहपृष्ठ जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

टोकियो । जापानमा आएको शक्तिशाली ताइफुन दुजुआनका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भारी वर्षा र पहिरोका कारण टोकियो आसपासका हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् ।

मंगलबार बिहानसम्म ताइफुन जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढिसकेको थियो । आँधी कमजोर भएसँगै अधिकारीहरूले भारी वर्षा र पहिरोको जोखिमसम्बन्धी अधिकांश चेतावनी हटाएका छन् ।

ताइफुनका कारण राजधानी टोकियोमा आयोजना भइरहेको विश्वकै ठूला भिडियो गेम व्यापार मेलामध्ये एक कार्यक्रमसमेत निर्धारित समयभन्दा अगावै बन्द गरिएको थियो ।

जापानमा गर्मीयामको अन्त्यदेखि शरद ऋतुको सुरुवातसम्म शक्तिशाली ताइफुन आउने गरेका छन् । यसअघि पनि यस मौसममा आएका अन्य आँधीका कारण जापानमा जारी एसियाली खेलकुदका केही कार्यक्रम प्रभावित भएका थिए ।

जापानको अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार टोकियो नजिकैको कानागावा प्रिफेक्चरमा एक जनाको मृत्यु भएको छ । त्यस्तै, चिबा प्रिफेक्चरमा पनि एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मुसलधारे वर्षापछि गएको पहिरोमा परी बेपत्ता भएका चार जनाको खोजी तथा उद्धार कार्य जारी रहेको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ । मंगलबार बिहानसम्म टोकियो नजिकैको चिबा क्षेत्रमा ४६ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध थियो ।

ताइफुन कमजोर हुँदै उत्तरपूर्वतर्फ अघि बढे पनि टोकियो क्षेत्रका केही स्थानमा अत्यधिक वर्षा भएको छ । टोकियोबाट करिब १२० किलोमिटर दक्षिणमा रहेको ओशिमा द्वीपमा ४८ घण्टामा ८३२ मिलिमिटर वर्षा मापन गरिएको छ। यो सेप्टेम्बर महिनाको औसत वर्षाभन्दा दोब्बरभन्दा बढी हो ।

त्यस्तै, टोकियोको एडोगावा वार्डमा २४ घण्टामा २८२.५ मिलिमिटर वर्षा भएको थियो, जुन त्यहाँको रेकर्ड वर्षा हो ।

वैज्ञानिकहरूका अनुसार मानव गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले अत्यधिक वर्षाको जोखिम बढाइरहेको छ । तापक्रम बढ्दै जाँदा वायुमण्डलले बढी जलवाष्प धारण गर्ने भएकाले भारी वर्षा हुने सम्भावना पनि बढ्ने वैज्ञानिकहरूको भनाइ छ । रासस

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु