गृहपृष्ठ अतिक्रमणको चपेटामा सोती सिमसार

अतिक्रमणको चपेटामा सोती सिमसार

अतिक्रमणको चपेटामा सोती सिमसार

सर्लाही– सर्लाहीको बागमती नगरपालिका–९, तेजपुरका भुवन निरौलाले उमेरको चार दशक पार गरिसके । खेती किसानी र सामाजिक सङ्घ संस्थामा आबद्ध उनलाई केही समयदेखि भने सोती खोला अतिक्रमणको चिन्ताले सताउन थालेको छ ।

निरौलाको घरबाट सय मिटरको दूरीमा एक दशक पहिलासम्म फराकिलो सिमसार क्षेत्र थियो । झण्डै १६ बिघामा फैलिएको उक्त सिमसार सोतीको मुहान आज अतिक्रमणले हराइसकेको छ ।

जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीको प्राकृतिक स्रोत सुक्दै जाने प्रक्रिया तीव्र गतिमा बढ्दै गएको छ । प्राकृतिक स्रोत त्यसमा पनि पानीको मुहान र जैविक संरचनामाथि मानवीय गतिविधि निर्मम बनेका उदाहरणहरू प्रशस्त देखिन थालेको छ । यसले पानीका स्रोतहरू मात्र सुकेका छैनन्, भविष्यमा मानव जीवनमा आइपर्ने विपत्तिका सङ्केतहरू समेत देखा पर्न थालेको छ ।

‘यहाँ ठूलो सिमसार क्षेत्र थियो’, निरौलाले सम्झे, ‘बर्सात्को पानी जम्मा भएर पोखरी बनेर बस्थ्यो । हिउँदभरि भूमिगत (जरुवा) पानी आफैँ निस्किएर सोती बग्थ्यो । अहिले त्यो सिमसार पनि छैन । पानी त कहाँबाट आउनु ? यी जग्गाहरू व्यक्तिको नाममा आएसँगै माटो हाल्ने खेती गर्ने गर्न थालेपछि भूमिगत पानीको स्रोत पनि सुक्यो ।’

अतिक्रमित मुहान क्षेत्रबाट डेढ किलोमिटर बगेपछि सोतीले बरहथवा नगरपालिका प्रवेश गर्छ । विगतमा फराकिलो हिसाबले बगेको सोतीलाई बरहथवा क्षेत्रमा पनि अहिले दुवैतर्फबाट माटो, ढुँगा र ग्राभेल हालेर पुर्ने क्रमले सोतीको मौलिक स्वभाव मात्र बदलिएको छैन, जैविक विविधता हराउँदै गएको छ ।

आफूले थाहा पाउँदासम्म कलकल बग्ने सोतीको सफा पानी स्थानीयले पिउन समेत प्रयोग गर्ने गरेको बरहथवा नगरपालिक–९ मूर्तिया निवासी विश्वनाथ महतोले बताउछन् ।

‘यो सोती देख्दा आज मन रोइरहेको छ’, उनले भने, ‘हाम्रो धार्मिक आस्था, खोलाको जैविक विविधतामाथि निरन्तर आक्रमण भइरहेको छ । हामीले यसैमा डुबुल्की मार्दै बालापन बितायौँ । केही वर्ष पहिलासम्म गाईबस्तुले पिउनेदेखि घरायसी काममा यसैको भर थियो । अहिले हरेक वर्ष पानीको सतह घट्दै गएको छ ।’

सोती खोलालाई स्थानीयले माईको रुपमा पुज्ने परम्परासमेत रहेको उनले जानकारी दिए । वर्षमा दुई पटक यसै खोलामा छठपर्व मनाउने गरिन्थ्यो तर केही वर्षयता सोतीको मुहानदेखि झण्डै चार किलोमिटरको क्षेत्रमा पानी पलाउन छाडेको छ ।

अतिक्रमणका कारण पानीको स्रोत कम हुँदै गएको सोती खोलाले आफ्नो जैविक स्वभावसमेत परिवर्तन गर्दै गएको स्थानीयको अनुभव छ । खोलाको अस्तित्व हराउँदै गएसँगै झिङ्गे, बामलगायतका माछा र पौष्टिक आहारको रुपमा प्रयोग हुने घुँगीलगायतका जलचर प्राणीसमेत चपेटामा परेका छन् ।

सिमसार पानीको मुहान रहेको यस खोला बागमती नगरपालिका–९, बाट सुरु भएर बरहथवा नगरपालिका, बसवरिया गाउपालिका, धन्कौल गाउँपालिका, रामनगर गाउँपालिका हुँदै बलरा नगरपालिका पुगेर बागमती नदीमा मिसिन्छ । यतिको दूरी पार गर्दैगर्दा यस खोलाले यहाँका हजारौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइको सुविधासमेत पुर्‍याएको थियो ।

अतिक्रमणपछि सोती खोलामा पानीको मात्रा घट्दै जाँदा आधा दर्जन पालिकाका उर्वर भूमि सिँचाइ अभावले बाँझो हुने खतरा बढेको स्थानीय युवा सोनुकुमार यादवको गुनासो छ । बाह्रै महिना पानी बग्ने सोतीमा अहिले बर्सात सुरु भएपछि केही समय पानी बग्ने गरेको उनको अनुभव छ ।

खेती सिँचाइको लागि सोतीको पानी बरहथवाको टाँडी बाँध, सोती खोला सिँचाइ बाँध, हीरापुर ब्यारेज, मानपुर ब्यारेज, रामनगर ब्यारेज, मनुसमारा बाँध र सुदामा ब्यारेजमा थुनेर नहरमा र कुलोमा हाल्ने गरिएको छ । अन्य स्थानमा समेत ससाना बाँध बाँधेर खेत सिँचाइको व्यवस्था गरिएको छ । केही बाँधमा बाह्रै महिना पानी रहने गरेको भए पनि केही बाँध हिउँद सुरु भएपछि खण्डहर बन्ने गरेको स्थानीयको गुनासो छ ।

खोलामा पानी कम हुँदै गएपछि तीन वर्षदेखि खेतमा डिप बोरिङ गरेर पानी पटाउने गरेको यादवले सुनाउनुभयो । नजिकै खोला भए पनि रातभरि जाग्राम बसेर डिप बोरिङबाट पानी पटाउनुपर्ने किसानहरूलाई बाध्यता छ । जलचर प्राणीको बासस्थान वनस्पति, जीव, जनावरसँगै मानिसको प्राण पानी बग्ने खोला बचाउनेतर्फ कसैको ध्यान नगएकोमा उनी चिन्तित छन् ।

सोती खोला बरहथवा नगरपालिकाको बीच भागबाट बगेको निकास (ड्रेन)समेत हो । बर्सातमा बरहथवा नगर क्षेत्रमा परेको पानीलाई खोलाले निकास दिने काम गर्दछ, जसले गर्दा पानी जमेर बरहथवा बजार क्षेत्रमा हुनसक्ने डुबानको जोखिम कम हुने स्थानीय बताउछन् ।

सोतीमाथिको दोहन वा अतिक्रमण भविष्यमा बरहथवावासीको लागि ठूलो समस्या हुनसक्ने वातावरणका जानकारहरूको भनाइ छ । प्राकृतिक सम्पदाको रुपमा रहेको यस सोती सिमसार क्षेत्रलाई पुरानो अवस्थामा निर्बाध बग्न दिनुपर्ने, अतिक्रमण हटाउनुपर्ने, सोतीको क्षेत्र कायम गरी अवैध गतिविधिमा रोक लगाउनु पर्नेलगायतको मागसहित स्थानीय युवाको समूहले जनप्रतिनिधि, नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयलगायत सरोकारवाला निकायलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

स्थानीय सरकार आफैँ अतिक्रमणमा संलग्न

सोतीको जैविक, वातावरणीय, धार्मिकलगायतको अस्तित्व नै सङ्कटमा पर्ने गरी नगरपालिकाले खोला किनारमा विभिन्न गतिविधि गरिरहेका छ । जरुवा पानी निस्कने ठाउँहरूमा सार्वजनिक जग्गा निकाल्ने नाममा खोलाको आधाभन्दा धेरै भाग पुर्ने र त्यसमाथि पार्क, धर्मशाला, विभिन्न जात र समुदाय विशेषका सार्वजनिक भवन निर्माणको काम गरिएको छ ।

दुवैतर्फबाट भएको खोला अतिक्रमण रोक्न पालिकाले करिडोर निर्माण गरेको नगरकी नगरप्रमुख कल्पना कटुवालले बताए । यसरी निर्माण गरिएको करिडोरका कारण खोला अतिक्रमण रोकिने र संरक्षण हुने उनको दाबी छ ।

अर्कोतर्फ खोला किनारमा पालिकासँग समन्वय नै नगरी अन्धाधुन्ध प्रदेश र सङ्घ सरकारले योजना पठाएर समस्यामा पारेको उनको कथन छ ।

‘खोला किनारमा तारजाली गर्नुपर्‍यो, बाटो बनाउनुपर्‍यो, खाली जमिनमा सार्वजनिक भवन बनाउनुपर्‍यो, भन्दै आउनुहुन्छ’, उनले भने, ‘रोकौँ भने गर्न दिएन भनेर विरोध हुन्छ । हामीलाई प्रदेश र सङ्घ सरकारले समन्वय नै नगरी संरचना निर्माण हुने गरेको छ ।’ बरहथवा नगरपालिकाअन्तर्गत सोती किनारमा नदीको जमिन मिचेरै आधा दर्जन फनपार्क, सार्वजनिक भवन र खुला व्यायामशाला निर्माण भएका छन् ।

सोतीको मौलिकता र विशेषताको वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी नदी संरक्षण, छठ घाट निर्माणलगायतका शीर्षकमा कङ्क्रिट ढलान गर्दा सोतीको जरुवा पलाउने प्रक्रियालाई प्रत्यक्ष असर गरिरहेका विज्ञहरूको दाबी छ । रासस

प्रकाशित समय : १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु