गृहपृष्ठ असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

पोखरा। दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३)० को साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको पर्यटकीय नगरी पोखरा विमानस्थलमा पानीको फोहरासहित फ्लाई दुबईको जहाज र यात्रुलाई स्वागत गरिनेछ।

त्यहाँबाट आएका यात्रुको अवतरणपछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि उड्नेछ। फ्लाइ दुबईको एयर बस ३१९-३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए।

एयर बस ३१९ मा १४० देखि १५० सम्म र एयर बस ३२० मा १६० देखि १८० सम्म यात्रु क्षमता रहेको उनको भनाइ छ। “फ्लाइ दुबईले आवश्यकताअनुसार पोखराका लागि एयर बस ३१९ र ३२० आलोपालो गरी उडाउँछ”, सूचना अधिकारी रावतले भने, “पहिलो उडानमा पोखरा आउने यात्रुको संख्या उल्लेख्य छ, पोखरादेखि दुबई फर्कदा जहाजले यात्रुसहित कार्गो लिएर जानेछ।”

उनले फ्लाइ दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको जानकारी दिए। पहिलो दिन निर्धारित समयभन्दा केही समयअघि जहाज अवतरण हुनसक्ने सूचना अधिकारी रावतले बताए। दुबई–पोखरा–दुबई नियमित उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले आवश्यक तयारी अगाडि बढाएको छ।

दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो। सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो।

विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ। सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन। फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौंभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य पाँच हजार रुपैंयाँसम्म सस्तो रहेको बताए।

उनले विश्वका १२० भन्दा बढी गन्तव्यमा फ्लाइ दुबईले सिधा उडान गर्दै आएको जनाउँदै पोखरा–दुबई उडान प्रवर्द्धनका क्रममा यात्रु तथा साझेदार संस्थाहरुलाई छुटलगायतका सुविधा दिइने बताए। पोखरा–दुबई उडानको सफलतासँगै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पोखरामा आकर्षित हुने विश्वास गरिएको छ।

फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ। पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरमा पुग्ने यात्रुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नहुने जनाइएको छ।

इमिरेट्स एयरलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ लाई आफ्नो प्रमुख हब बनाएर विश्वका छवटा महादेशका ७६ देशमा रहेका १४३ भन्दा बढी देशलाई हवाई सञ्जालमा जोड्दै आएको छ। एयरलाइन्सबीच हुने कोडसेयर साझेदारीले यात्रुको ट्रान्जिटलाई सहज बनाउने जनाइएको छ। पोखरादेखि दुबई हुँदै अन्य देशमा जाने यात्रुहरु एउटै टिकटबाट यात्रा गर्न सक्ने छन्।

लामो प्रतिक्षापछि पोखराबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यस क्षेत्रका पर्यटन व्यवसायीलगायत उत्साहित छन्। अन्तर्राष्ट्रिय उडानलाई दिगो तुल्याउन बजारीकरण तथा प्रवर्द्धनमा सरकारी निकाय र निजी क्षेत्रबाट पहल हुँदै आएको छ। सुरुमा एक महिनाका लागि मात्र दिनको एक पटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ।

पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडान मुलुककै पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। उडान सफल बनाउन पोखरेली पर्यटन व्यवसायी एक्यबद्ध भएर लाग्ने उनको भनाइ छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानलाई सफल बनाउनु सम्बद्ध सबै पक्षको दायित्व भएको उल्लेख गरे। “पोखरालाई विश्वास गरेर फ्लाई दुबई यहाँ आएको छ, हामी सबैले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्छ”, उनले भने।

पहिलो पटक हुन लागेको यस उडानको दिगोपनाका लागि आउन सक्ने चुनौतीलाई सामाना गर्दै अवसरमा बदल्नु पर्ने उनले बताए। उपयुक्त हावापानी भएको सफा र सुन्दर पोखरालाई अन्तर्राष्ट्रिय जगतमा पहिचान दिन फ्लाई दुबईको उडानले मद्दत पुग्ने उनको भनाइ छ।

पोखरा महानगरपालिका र फ्लाई दुबईबीच पनि पर्यटन प्रवर्द्धन, गन्तव्यस्थलको बजारीकरण, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ।

उक्त उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। त्यस उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लण्डन, न्युयोर्क, टोकियो जस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ।

वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ। पोखरा–दुबई उडानबाट तालै तालको नगरी पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधै पोखरा आउन सक्ने छन्।

सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलो पटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि यात्रु संख्या न्यून हुँदा उक्त उडान सेवा हाल स्थगन छ। पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो। यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रुपमा रहेको छ। काठमाडौं केन्द्रित रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनुपर्ने आवाज उठ्दै आएको छ।

प्रकाशित समय : १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु