गृहपृष्ठ एआई विकासको गति घटाउन एन्थ्रोपिकका सीईओको आह्वान

एआई विकासको गति घटाउन एन्थ्रोपिकका सीईओको आह्वान

एआई विकासको गति घटाउन एन्थ्रोपिकका सीईओको आह्वान

काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका छन् ।

शनिबार प्रकाशित एक लेटरमा अमोडेईले एआई विकास रोक्ने विषयमा बहस नभएको बताएका हुन् । यसबाट उत्पन्न हुन सक्ने जोखिम गम्भीर रहेकाले कम्पनी र सरकारहरूलाई त्यसको समाधानका लागि पर्याप्त समय दिनुपर्ने उनको भनाइ छ ।

अमोडेईले एआई सुरक्षाका लागि तीनबुँदे योजना अघि सारेका छन् । त्यसमा एआई मोडेल विकास भइरहेका बेला स्वतन्त्र निगरानी, उद्योगभर लागू हुने नियमन र विश्वव्यापी नियमन समावेश छन् ।

एआई प्रविधिका सम्भावित जोखिमबारे पछिल्लो समय चिन्ता बढ्दै गएको देखिन्छ । तीमध्ये सबैभन्दा गम्भीर चिन्ताका रूपमा आगामी दशकभित्र एआईका कारण मानव जाति नै समाप्त हुन सक्ने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको अनुमानसमेत सार्वजनिक भएको छ ।

एन्थ्रोपिकले नै यसअघि जैविक हतियार विकासमा सहयोग पुग्न सक्ने खालका दुरुपयोगका प्रयासहरू आफ्नो एआई मोडेलमार्फत पहिचान गरी विफल बनाएको बताएको थियो ।

एन्थ्रोपिकको सुरक्षा टोलीका दुई कर्मचारीले पछिल्लो दुई सातामा राजीनामा दिएका छन् । मानवभन्दा बढी सक्षम मेसिन विकास गर्ने दौडका कारण मानव जाति नै बाँच्न नसक्ने अवस्था आउन सक्ने उनीहरूले चेतावनी दिएका छन् ।

अमोडेईको प्रस्ताव सार्वजनिक भएपछि उनका प्रतिस्पर्धीहरूले समेत एआई मोडेलको सुरक्षा मूल्यांकन गर्न तेस्रो पक्षका स्वतन्त्र अनुगमनकर्ता आवश्यक रहेको बताएका छन् ।ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सामाजिक सञ्जाल एक्समा लेख्दै आफू अमोडेईसँग सहमत रहेको बताएका छन् ।

 

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु