भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
वि.सं.२०८३ भदौ २५ बिहीवार १३:०५
shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ सहयोग गरेको छ।
एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट रकम संकलन गरी बुधबार अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने जनाइएको छ।
एमपीआईएका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले सहयोग रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
रकम हस्तान्तरण गर्दै अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सदस्य संस्थाहरूले देखाएको सद्भाव र सहयोग प्रशंसनीय रहेको भन्दै सबै सदस्य संस्थालाई धन्यवाद दिए।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोका कारण रसुवा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्बाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रले सहयोग घोषणा गर्दै आएका छन्।

























