गृहपृष्ठ हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
तेहरान। इरानले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्दै ओमानको खाडी र अरब सागरका केही भागलाई समेत प्रतिबन्धित क्षेत्रमा समेटेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ। इरानी रिभोलुसनरी गार्ड्सले बुधबार दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० वटा निर्देशन पालना नगरेका जहाजमाथि कारबाही गरेको जनाएको छ।
गार्ड्सका प्रवक्ता हुसेन मोहेबीले प्रतिबन्धित क्षेत्रमा समन्वय नगरी प्रवेश गर्ने जहाज कारबाहीको दायरामा पर्ने बताए। इरानले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजले अनुमति लिन र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ।
यसबीच, तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार १०१.२१ डलरमा बन्द भएको थियो। हर्मुज जलघाँटीबाट सामान्यतया विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौं भाग ओसारपसार हुने गर्छ।
इरानले अमेरिकी सेनाले पाँच इरानी तेल ट्याङ्कर नष्ट गरेको जवाफमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको पनि जनाएको छ। जोर्डनले आफ्नो क्षेत्रमा प्रहार गरिएका १८ क्षेप्यास्त्र खसालेको बताएको छ। इरानले अमेरिकी कारबाहीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिका लागि खतरा भन्दै सैन्य संरचनामाथिको आक्रमणलाई आत्मरक्षा भनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। तर ‘वाल स्ट्रिट जर्नल’ ले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै युद्ध ट्रम्पको कार्यकालको बाँकी दुई वर्षसम्म पनि जारी रहन सक्ने चेतावनी उका वरिष्ठ सल्लाहकारहरूले दिएको जनाएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बोर्ड अफ गभर्नर्सले इरानको आणविक विषय संयुक्त राष्ट्र सुरक्षा परिषदमा पठाउने पक्षमा २३–३ मतले मतदान गरेको छ। रुस, चीन र नाइजरले विपक्षमा मतदान गरेका थिए। इरानले अमेरिकी दबाबमा प्रस्ताव पारित गरिएको भन्दै त्यसको कुनै आधार नभएको जनाएको छ।
फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता हर्मुज जलघाँटीबाट हुने अन्तर्राष्ट्रिय आवतजावत लगभग ठप्प छ। जलघाँटी बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ। –रासस
प्रकाशित समय : ११:५४ बजे


















