गृहपृष्ठ ‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग

‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग

‘नटुवा’ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राख्न माग
कपिलवस्तु । नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन् ।  कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास  छ ।
कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, मायादेवी गाउँपालिकाको अभिराव र यशोधरा गाउँपालिकाको वसन्तपुरलगायत क्षेत्रमा नटुवा समुदायको बसोबास छ । मायादेवी गाउँपालिका–२ अभिरावका नेतराम नटुवाले पटकपटक काठमाडौं पुगेर सम्बन्धित निकायमा माग राखे पनि सुनुवाइ नभएको बताए।
“लोपोन्मुख जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो तर राज्यले अझै हाम्रो माग सुनेको छैन,” उनले भने । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा करिब १४ घरमा दुई सयभन्दा बढी नटुवा बसोबास गर्दै आएका छन् ।
सुकुमबासी बस्तीमा बस्दै आएका उनीहरूसँग नेपाली नागरिकताको प्रमाणपत्रबाहेक अन्य आधारभूत सुविधा तथा सम्पत्तिको अभाव रहेको बताइन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र स्थायी बसोबासको समस्यासँगै दैनिक गुजारा चलाउनसमेत कठिनाइ भइरहेको उनीहरू बताउँछन् ।
शुद्धोधन गाउँपालिका–१, प्रगतिनगरका महेन्द्र नेटुवाले आफूहरूभन्दा माथिल्लो जातिका रूपमा रहेको पत्थरकट्टा समुदायले राज्यबाट सुविधा पाए पनि नटुवा समुदाय बेवास्तामा परेको गुनासो गरे ।
स्थानीय लक्ष्मी नटुवाका अनुसार पत्थरकट्टा समुदायलाई लोपोन्मुख जातिको सूचीमा समावेश गरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइए पनि नटुवा समुदाय त्यस्तो सुविधाबाट वञ्चित छ ।
“हामीलाई दलितभन्दा तल्लो जातिका रूपमा विभेद गरिँदै आएको छ । हाम्रो जनसङ्ख्या पनि निकै कम छ,  राज्यले हाम्रो समस्यालाई सम्बोधन गरेको छैन,” उनले गुनासो गरे।
उनीहरु सरकारी सुविधा माग गर्दै विभिन्न निकायमा पुगे पनि माग सम्बोधन नभएको बताउँछन् । वर्षौंदेखि राजनीतिक दलका उम्मेदवारलाई मतदान गर्दै आए पनि निर्वाचित भएपछि आफूहरूको समस्या बुझ्न कोही नआएको उनले बताए ।
स्थानीय पण्डित नटुवाले प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित मन्त्रालयमा पटकपटक ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै उपलब्धि नभएको बताए ।
परम्परागत रूपमा सर्प समात्ने तथा उद्धार गर्ने काममा संलग्न नटुवा समुदाय पछिल्लो समय जीविकोपार्जनका लागि भिक्षा मागेर खान थालेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित हुँदा समुदायको दैनिकी कष्टकर बन्दै गएको स्थानीयको भनाइ छ ।
नटुवा समुदायको परम्परागत सीपलाई व्यवसायीकरण गर्न कपिलवस्तुमा सर्प उद्धारसम्बन्धी सीप विकास तथा स्थानीय ब्यान्डबाजा बजाउने तालिमसमेत सञ्चालन गरिएको छ ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु