गृहपृष्ठ भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले भैरहवास्थित भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले आवश्यक पहल र सहयोग गर्ने बताएका छन ।

हालको अस्पतालको ५० शय्या क्षमताले दैनिक आउने बिरामीको चाप धान्न कठिन भइरहेको उल्लेख गर्दै उनले अस्पतालको भौतिक संरचना विस्तारसँगै विशेषज्ञ चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी र सेवा थप गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए ।

भीम अस्पतालमा व्यवस्थापन समिति, विभागीय प्रमुख तथा स्वास्थ्यकर्मीसँगको आन्तरिक छलफलमा मन्त्री पुनले भीम अस्पताललाई उपचार सेवा प्रदान गर्ने संस्थाका रूपमा मात्र नभई आवश्यक स्वास्थ्य जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।

नेपालमा नर्सिङलगायत विभिन्न विधाका स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्दै मन्त्री पुनले भीम अस्पतालले स्वास्थ्यकर्मी उत्पादनतर्फ अघि बढ्नुपर्ने बताए । त्यसका लागि प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै अस्पताल व्यवस्थापनलाई यसतर्फ पहल गर्न आग्रह गरे ।

मन्त्री पुनले रुपन्देही, कपिलवस्तु, नवलपरासी तथा भारतबाट समेत बिरामी आउने भीम अस्पताल लुम्बिनी प्रदेशको महत्त्वपूर्ण स्वास्थ्य संस्था भएको बताए । दैनिक करिब ६०० बिरामीले सेवा लिने अस्पतालमा आवश्यक पूर्वाधार, प्रविधि तथा जनशक्ति थप गर्नुपर्ने उनको भनाइ थियो ।

कोभिड–१९ महामारीका समयमा रुपन्देहीका अन्य अस्पताल आंशिक रूपमा सञ्चालन भइरहेका बेला भीम अस्पतालले कोभिड अस्पतालका रूपमा प्रभावकारी सेवा दिएको उल्लेख गर्दै उनले अस्पतालले स्वास्थ्य सेवाको अग्रपङ्क्तिमा रहेर काम गरेकोमा प्रशंसा गरे ।

स्वास्थ्यमन्त्री पुनले लामो समयदेखि अस्थायी तथा ज्यालादारीमा कार्यरत कर्मचारीको सेवा–सुविधाका विषयमा पनि आवश्यक पहल गर्ने बताए । प्रदेश सरकार, अस्पताल र व्यवस्थापन समितिअन्तर्गत कार्यरत कर्मचारीबीच देखिएको सेवा–सुविधासम्बन्धी विभेदलाई सकेसम्म एकरूपता ल्याउनेतर्फ पहल गर्ने उनले बताए ।

स्वास्थ्य क्षेत्रलाई थप मर्यादित, व्यवस्थित र जनमुखी बनाउन आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै मन्त्री पुनले स्वास्थ्यकर्मीलाई नागरिकका लागि महत्त्वपूर्ण सेवकका रूपमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा आनन्दकुमार शर्माले भीम अस्पताल यस क्षेत्रको पुरानो तथा महत्त्वपूर्ण स्वास्थ्य संस्था भएकाले सर्वसाधारणलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । उनले अस्पताललाई १०० शय्यामा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्न प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए ।

भीम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शैलेजा घिमिरेले अस्पतालमा भौतिक पूर्वाधार, आधुनिक प्रविधि, स्वास्थ्यकर्मी तथा रेडियोलोजीमा विशेषज्ञको अभाव रहेको जानकारी गराउँदै आवश्यक व्यवस्था मिलाउन मन्त्री पुनसँग आग्रह गरिन। उनले रुपन्देही, कपिलवस्तु, नवलपरासी तथा भारतबाट आउने बिरामीका लागि भीम अस्पताल भरपर्दो स्वास्थ्य संस्था भएकाले जनताको विश्वास कायम राख्न नयाँ प्रविधि र आवश्यक जनशक्ति थप गर्नुपर्ने बताइन ।

अस्पतालका व्यवस्थापक छमबहादुर अधिकारीले बजेट तथा जनशक्तिको अभावका कारण अस्पतालको सेवा विस्तारमा समस्या रहेको बताउँदै विशेषज्ञ चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी र बजेटको व्यवस्था गर्न आग्रह गरे । अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्याय र जनकराज पन्तले अस्पतालका समस्या समाधान गरी जनमुखी स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा अस्पतालका विभागीय प्रमुख, स्वास्थ्यकर्मी तथा कर्मचारीको सहभागिता थियो ।

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु