गृहपृष्ठ गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा
गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा
गुल्मी ।गुल्मीका बाख्रामा देखिएको पेस्ट डेस पेटिट्स रुमिनान्ट्स (पिपिआर) रोग नियन्त्रणमा आएको छ । जिल्लाको मदाने गाउँपालिका(६ न्वारामा स्थानीय कृषक नारायण कुँवरले पालेको बाख्रामा गत तीन साता अघि पिपिआर रोगको सङ्क्रमण देखिएको थियो ।
पिपिआर ९भेँडा(बाख्रामा लाग्ने हैजा० फैलिएको क्षेत्रमा पशु आवतजावतमा रोक लगाउनुका साथै प्राविधिक टोली परिचालन गरी सङ्क्रमित बाख्राको उपचार र मरेका पशुलाई सोही ठाउँमा व्यवस्थापन गरेपछि रोग पूर्ण रूपमा नियन्त्रणमा आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले जानकारी दिए ।
मदाने गाउँपालिका(६ न्वाराका बाख्रामा पिपिआरको सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १ गते सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको थियो । सङ्क्रमण देखिएको क्षेत्रलाई केन्द्रित गरी २१ दिनसम्म निगरानी तथा आवश्यक नियन्त्रणका उपाय अपनाइएपछि हाल उक्त क्षेत्रमा सङ्क्रमण नियन्त्रणमा आएको केन्द्रका प्रमुख पाण्डेले बताए ।
भेटेरिनरी कार्यालयका अनुसार प्रारम्भिक चरणमा न्वारा क्षेत्रमा पिपिआरका कारण चार वटा बाख्रा मरेका थिए भने आठ वटा बाख्रामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त ठाउँमा गत साउनको दोस्रो साता अर्घाखाँचीको धारा पानीबाट दुई वटा बोका ल्याएपछि स्थानीय किसानले पालेका बाख्रामा रोगका लक्षण देखिएको उनले बताए ।
रोगको लक्षण देखिएलगत्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पशु चिकित्सक सोनिया थापासहितको टोली प्रभावित क्षेत्रमा पुगेर सङ्क्रमित बाख्राको नमूना सङ्कलन गरेको थियो । सङ्कलित नमुना पशु रोग अन्वेषण प्रयोगशाला नवलपरासी पठाइएकोमा परीक्षणबाट पिपिआर रोग पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख पाण्डेले जानकारी दिए ।
रोग पुष्टि भएपछि मदाने गाउँपालिकाको पशुसेवा प्राविधिक टोली किसानका खोरमै पुगेर सङ्क्रमित बाख्राको उपचारमा जुटेको थियो । त्यसैगरी केन्द्रका प्रमुख पाण्डेको नेतृत्वमा थप टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाबारे जानकारी लिएको थियो ।
पिपिआर रोग पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भेडा तथा बाख्रामा तीव्र रुपमा रोग फैलिन सक्ने भन्दै किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका थिए ।
न्वारा गाउँलाई पिपिआर प्रभावित क्षेत्र घोषणा गर्दै नियन्त्रणमा नआउँदासम्म उक्त क्षेत्रबाट बाख्रा तथा भेडा ओसारपसारमा रोक लागाइएको थियो । पिपिआर बाख्रा तथा भेडामा देखिने सङ्क्रामक रोग भएका कारण उक्त रोगको सम्भावित जोखिम कम गर्न पशु ओसारपसारमा सावधानी अपनाउन र समयमै खोप लगाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले किसानलाई आग्रह गरेको छ ।
प्रकाशित समय : २१:०२ बजे


















