गृहपृष्ठ बर्दियामा ५५ जनाको डिएनए सङ्कलन
बर्दियामा ५५ जनाको डिएनए सङ्कलन
बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका ५५ जनाको डिएनए सङ्कलन गरिएको छ ।
नागरिकको अवस्था पहिचान गर्न डिएनए नमूना सङ्कलन गरिएको र सो नमूना भोली नै पठाइने जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए ।
“हामीले अझै पनि सम्पर्क नआउनु भएकालाई सम्पर्क गर्न खोजिरहेका छौँ”, उनले भने । जिल्लाको बारबर्दिया नगरपालिका, बासगढी, नगरपालिका, मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका, ठाकुरबाबा नगरपालिकालगायत विभिन्न स्थानबाट डिएनए नमूना उपलब्ध भएको प्रहरीले जनाएको छ । बर्दियामा ७४ जना सम्पर्कविहीन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरेको थियो । डिएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने छ । अन्य तीन जना पीडितका आफन्तले चितवन, काठमाण्डौं र बाँकेमा डिएनए नमूना परीक्षण गराएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज कारागारका कैदी बन्दीको सहयोग
भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपालगञ्ज कारागारका कैदी बन्दीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
कारगारमा रहेका ८८८ कैदी बन्दीले सङ्कलन गरेको रु एक लाख दुई हजार ६२६ आज कारागारका जेलर नृपजङ्ग शाहीलाई बुझाएका छन् । सो रकम बैंक खुल्नासाथ उद्धार कोषमा जम्मा हुने शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार कारगारको ‘क’ ब्लकबाट रु ५१ हजार ५१५ र ‘ख’ ब्लकबाट रु ५१ हजार १५१ सङ्कलन गरिएको थियो । अहिले सो कारागारमा ८८८ कैदी बन्दी रहेका छन् । अहिलेसम्म बाँकेमा रु २५ लाखभन्दा बढी रकम दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको छ ।
प्रकाशित समय : २०:२१ बजे


















