गृहपृष्ठ बेसीँसहर–चामे सडकमा ठूला सवारीसाधन चलाउन रोक
बेसीँसहर–चामे सडकमा ठूला सवारीसाधन चलाउन रोक
मनाङ । हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे–बेसीसहर सडकमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । स्थानीयद्वारा ठूला सवारीसाधन सञ्चालन गर्दा सडकको अवस्था नाजुक तथा जोखिमयुक्त बनेको भन्दै स्थानीयद्वारा रोक लगाइएको हो ।
मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेका सोमबहादुर तामाङ भन्छन, “स्थानीयवासीको दैनिकीमा नै असर पर्ने गरी सडक जोखिमयुक्त बनेपछि बाध्य भएर ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका हौँ । पटक–पटक ध्यानाकर्षण गरायौँ तर सुनुवाइ नभएपछि यसरी सबै मिलेर सडक सञ्चालन रोकिएको हो ।” अन्नपूर्ण संरक्षण क्षेत्रमा विश्वका पर्यटक आउने मार्गमा नै स्थानीयवासीले हिँड्न र दैनिकी चलाउन नसक्ने भएपछि यस्तो कदम चालिएको उनि बताउछन ।
सूर्यकुमारी गुरुङ ठूला सवारीसाधन चलाउँदा घाँसदाउरा गर्न जानसमेत मुस्किल भएको बताउछन । उनि भन्छन, “हामी घाँस दाउरा गरेर गुजार गर्ने त यो हिलाम्मे बाटोमा हिँड्न सकेका छैनौँ । यसको समाधान कसले गर्ने हो खै रु यसको समाधान हुनुप-यो । यही मागका साथ आज सडकमा ठूला सवारीसाधन चलाउन बन्द गराएका हौँ ।” स्थानीय बालबालिका विद्यालय जाँदा हिलाम्मे सडकमा हिड्न नसकेर जोखिम बढेको गुरुङ बताउछन ।
“बालबालिकालाई विद्यालय पठाउँदा डराउनुपर्ने अवस्थामा छौँ । कतै हिलोमा सवारीसाधन चलाउँदा चिप्लिएर बालबालिका नै दुर्घटनामा पर्छन् कि हिलो छ्यापिएर विद्यालय जान छाडेर फर्किन्छन् कि भन्ने चिन्ता बढेको छ”, गुरुङ भने, “ठूला सवारीसाधन चलाउँदा कतै सडक नै भाँसिएर आवतजावत नै रोकिन्छ कि भन्ने अवस्था छ ।
पर्यटकीय क्षेत्रको पहिचान बनाएको मनाङको यो सडक जोखिमयुक्त मानिन्छ । त्यसमाथि विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को भ्रमणमा आउने पर्यटक र स्थानीयका लागि मुख्य सडक हो । यस सडक वर्षायाम ठूला सवारी चलाउँदा हुनसक्ने जोखिमलाई मध्यनजर गरी ठूला सवारीसाधन नचलाउन आग्रह गरिएको प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले बताए ।
“वर्षायाममा सवारीसाधन चलाउँदा सडक भाँसिन सक्छ । यसले निम्त्याउने समस्यालाई पनि ध्यान दिनुपर्छ । लामो समयसम्म पुनर्निर्माण गर्न सकिने अवस्था छैन”, सांसद गुरुङले भने, “सडक भाँसिएमा यस याममा पर्यटकका लागि आवश्यक सामग्री ढुवानी तथा स्थानीयवासी आवतजावतमा समस्या हुने भएकाले वर्षायाममा हेभी सवारीसाधन नचलाउन प्रशासनलाई आग्रह गरेका छौँ । यसमा प्रशासनले ध्यान दिनुपर्छ ।”
दैनिकजसो वर्षा भइरहेकाले यस सडकमा ठूला सवारीसाधन चलाउँदा बढी खाल्डो पर्नुका साथै भाँसिन सक्ने सम्भावना बढी रहेको छ । यस सडकमा हेभी सवारीसाधन चलाउँदा वर्षायाममा ध्यान पुर्याउन नसकिएमा मनाङको अन्य क्षेत्रसँग सम्बन्ध टुट्न सक्ने भएकाले वर्षायाममा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रतिनिधिसभा सदस्य धर्मराज केसीले बताए ।
वर्षायाममा चलाउने गरिएको छ चक्केभन्दा माथिका सवारीसाधन चलाउँदा सडक भाँसिने जोखिम हुने भएकाले वर्षायाममा नचलाउन आग्रह गरिएको थियो । प्रशासनले सडक भाँसिन सक्ने भएकाले वर्षायाममा यहाँ निर्माणाधीन हाइड्रोपावरका ठूला सवारीसाधन नचलाउन अनुरोध गरेको थियो । जोखिमको मध्यनजर गरी लमजुङ प्रशासन, डुम्रे–बेसीँसहर–चामे सडक आयोजनामार्फत समन्वय गरेर नचलाउन आग्रह गरिएको हो ।
प्रकाशित समय : १६:४३ बजे


















