गृहपृष्ठ बाढीमा सम्पर्कविहीन भएकाको खोजीमा अथकित आफन्त
बाढीमा सम्पर्कविहीन भएकाको खोजीमा अथकित आफन्त
काठमाडौं । दुवै छातीमा चित्रमय ट्याटु । आँखामा कालो चस्मा । चम्किलो अनुहार । हेर्दा आकर्षक लाग्ने यही तस्बिर अहिले ललितपुरको महालक्ष्मी नगरपालिका–७ निवासी शिशिर बस्नेतका आफन्तका लागि आशा र पीडाको प्रतीक बनेको छ । दिनहरू जति बित्दै जान्छन्, त्यति नै आफन्तको मन अमिलो र अनुहार निन्याउरो हुँदै गएको छ ।
बस्नेतको त्यही तस्बिर बोकेर उनका आफन्त आठ दिनदेखि अस्पताल, प्रहरी कार्यालय र सम्भावित खोजीस्थलमा भौँतारिइरहेका छन । यही भदौ १० गते भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका समयमा सम्पर्कविहीन हुनुभएका बस्नेतको खोजीको प्रयास रोकिएको छैन ।
टोलीसहित गोसाइँकुण्ड यात्रामा जानुभएका शिशिर बाढीपछि परिवारको सम्पर्कमा नआएपछि खोजीको गर्नुको अर्को विकल्प पनि छैन । आठ दिन बितिसक्दा पनि परिवारले उनि भेटिने आशा बोकिरहेको छ । “उहाँलाई देख्नुभएको वा उहाँका बारेमा कुनै जानकारी पाउनुहुने महानुभावले कृपया परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहोला,” शिशिरको तस्बिरसहितको सूचनामा भनिएको छ ।
उनका आफन्तले शिशिरको तस्बिरसहितको सूचना काठमाडौँको ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायतका स्थानमा टाँसेका छन् । बाढी तथा पहिरोपछि शव सङ्कलन तथा पहिचान भइरहेका नुवाकोट, चितवनलगायतका स्थानमा समेत आफन्तहरू पुगेर खोजी गरिरहेका छन् ।
“हामी अझै आशावादी छौँ । सबैलाई खोजखबरका लागि आग्रह गर्दछौँ,” ट्रमा सेन्टरमा भेटिनुभएका शिशिरका जेठा तथा माइला दाइ र परिवारका सदस्यले एकैसाथ भने, “शिशिरको सम्झना कति हुन्छ कति । आँखामा आँसुको धारा बोकेर हिँडेका छौँ । सबै अस्पतालदेखि चितवनसम्म परिवार र आफन्तलाई खोजीका लागि पठाएका छौँ । दुःख छ, पीडा छ तर खोजतलास जारी राखेका छौँ । सबै नेपालीले सहयोग गर्नुहुनेछ भन्ने आशा छ ।”
शिशिरजस्तै बाढीपछि सम्पर्कविहीन भएका आफ्ना आफन्तको खोजीमा अन्य परिवार पनि दिनरात लागिरहेका छन् । रसुवाको हाकुबेँसीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा कार्यरत सङ्गम थापा घर्तिमगर पनि बाढी आएको समयदेखि सम्पर्कविहीन छन ।
प्रकाशित समय : १७:५४ बजे


















