गृहपृष्ठ त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी
त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खोलेर माटो सोहोर्ने काम भइरहेको छ ।
नेपाली सेनाका अनुसार आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशङ्कामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेका छन् ।
सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो थुप्रो (डेब्रिस)मा अन्तबाट बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूलठूला ढुङ्गाहरू छन् । दिनरातको निरन्तरको प्रयासपछि ती सामग्री पन्छ्याएर सुरुङको माथिल्लो भागतर्फ १० फिट लम्बाइ र ४ फिट उचाइ जति मुख खोलिएको नेपाली सेनाले जनाएको छ ।
आयोजना स्थलमा रहेका सांसद् श्रीराम न्यौपानेका अनुसार सेनाले सुरुङभित्र छिरेर माटो सोहोर्ने र पानी बाहिर बगाउने काम गरिरहेको छ । एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य पनि जारी छ । थप ७ वटा बोल्डर (ठूला ढुङ्गा) ब्लास्टिङका लागि तयारी पनि भइरहेको छ ।
यो सुरुङ १७० मिटर जति लम्बाइको छ । माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ ।
प्रकाशित समय : १८:०२ बजे


















