गृहपृष्ठ भोटेकोशी बाढीः ट्रमा सेन्टरबाट चार घाइते डिस्चार्ज, १४ जना उपचाररत
भोटेकोशी बाढीः ट्रमा सेन्टरबाट चार घाइते डिस्चार्ज, १४ जना उपचाररत
काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार बिहान गएको बाढीमा परी घाइते भएकामध्ये १८ जनालाई उद्धार गरी काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएकामा चार जना उपचारपछि डिस्चार्ज भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका १८ जनालाई उद्धार गरी ट्रमा सेन्टरमा ल्याइएको थियो । तीमध्ये आज चार जनाको उपचार पश्चात् स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज भएका हुन् ।
हाल राष्ट्रिय ट्रमा सेन्टरमा १४ जना घाइतेको उपचार भइरहेको उहाँले जानकारी दिए । उपचाररत सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको प्रहरी उपरीक्षक थापाले बताए ।
सहायता कक्षमा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उद्धार गरिएका घाइतेको उपचारसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई समेत निरन्तरता दिइएको छ । उद्धार, उपचार तथा पीडितका आफन्तसँग समन्वयका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन् ।
प्रकाशित समय : २१:३२ बजे


















