गृहपृष्ठ भोटेकोशी बाढीः मेलम्चीका बाढी प्रभावितद्वारा एक लाख सहयोग

भोटेकोशी बाढीः मेलम्चीका बाढी प्रभावितद्वारा एक लाख सहयोग

भोटेकोशी बाढीः मेलम्चीका बाढी प्रभावितद्वारा एक लाख सहयोग

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकको मेलम्ची बाढी प्रभावितले रकम सङ्कलन गरी सहयोग गरेका छन् । विसं २०७८ असार २ गते आएको बाढीका कारण प्रभावित बनेकाहरूले एक लाख चार हजार १६५ सङ्कलन गरी सयोग प्रदान गरेका हुन् ।

पीडितलाई केही भए पनि सहयोग होस् भन्ने उद्देश्यले रकम सङ्कलन गरिएको मेलम्ची बाढी प्रभावित प्रकाश श्रेष्ठले बताए । “रसुवामा आएको विनासकारी बाढीले धेरै परिवारलाई पीडा, दुःख र अनिश्चितताको अवस्थामा पुर्याएको छ”, उनले भने, “केही वर्षअघि हामीले मेलम्ची बाढीको पीडा भोगेका छौँ । उनिहरूको पीडामा थोरै भए पनि मल्हम लगाउन हामीले मेलम्ची बाढी प्रभावितबाट रकम सङ्कलन गरेका हौँ ।” मेलम्चीवासी, व्यवसायी, समाजसेवी तथा सहयोगीबाट एक लाख चार हजार १६५ सङ्कलन गरिएको उनले बताए ।

आफूले भोगेको पीडा आज रसुवाका नेपालीलाई परेको भन्दै यसमा सानो सहयोगले पनि महत्त्व राख्ने भएकाले स्थानीयबाट रकम सङ्कलन गरी पीडितलाई उपलब्ध गराइएको मेलम्ची बाढी प्रभावित कुमार दुलालले बताए । “अहिलेकोजस्तै त्रासदी हाम्रो मानसपटलमा अझै ताजा छ । यो बेला हामीलाई चुपचाप हेरेर बस्न मनले दिएन”, उनले भने , “रसुवाको बाढीले हामीलाई थप भयभित र सर्तक बनाएको छ ।”

पुनःस्थापनाका लागि समयमै आवश्यक सहयोग, समन्वय भएमा व्यवस्थापन प्रभावकारी हुने भन्दै दुलालले व्यवस्थापन अभाव हुँदा विपद् प्रभावितले थप पीडा भोग्नुपर्ने भन्दै आपसी सहयोग र समन्वयको आवश्यकता औँल्याए । “अब हामी सबै राहत र पीडितको पुनःस्थापनामा जुट्न आवश्यक छ”, उनले भने । उनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु