गृहपृष्ठ बाढी प्रभावितलाई मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
बाढी प्रभावितलाई मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
चितवन । चितवन मेडिकल कलेज (सिएमसी)शिक्षण अस्पतालले रसुवा बाढी प्रभावितलाई निःशुल्क आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।
कलेजद्वारा आज जारी विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाका नदी तटीय क्षेत्रमा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै कलेजले विपद्बाट प्रभावित नागरिकको उपचारमा सहयोग गर्ने जनाइएको छ ।
बाढीपहिरो तथा डुबानबाट प्रभावित र घाइते नागरिकलाई अस्पतालमा निःशुल्क आकस्मिक स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा आवश्यक परे भर्ना सेवा उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ । विपद्का कारण घाइते तथा प्रभावित नागरिकको उपचारलाई प्राथमिकतामा राख्दै अस्पतालको आकस्मिक कक्ष २४ घण्टा र सातै दिन पूर्णरूपमा सञ्चालनमा रहने कलेजले जनाएको छ ।
विपद्को अवस्थाका आधारमा विशेषज्ञ चिकित्सक, नर्सिङ जनशक्ति, एम्बुलेन्स तथा आवश्यक औषधि–उपकरणसहितको छुट्टै आकस्मिक प्रतिकार्य टोली (इमर्जेन्सी रेस्पोन्स टिम) तयारी अवस्थामा राखिएको छ । आवश्यकता परेको अवस्थामा उक्त टोलीलाई घटनास्थल वा विपद् प्रभावित क्षेत्रमा परिचालन गर्न सकिने कलेजका प्रबन्ध निर्देशक प्रताप देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कलेजले नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्थानीय प्रशासन, स्थानीय तह, सुरक्षा निकायलगायत सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित समय : १७:४९ बजे


















