गृहपृष्ठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन तीव्र
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन तीव्र
काठमाडौं । बाढीका कारण अवरुद्ध भएको मोबाइल तथा दूरसञ्चार सेवा पुनः सञ्चालनका लागि नेपाल टेलिकमले रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको छ ।
नेपाल टेलिकमले हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी रसुवाको धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै, रसुवाको गोल्जुङ टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिकाका वडा नं. ४ र ५, गोसाईंकुण्ड गाउँपालिकाका वडा नं. ३ र ५ तथा स्याफ्रुबेँसी–टिमुरे राजमार्गका केही क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन भएको छ ।
नुवाकोटको सूर्यगढी गाउँपालिका–३ मा रहेको गेर्खु मोबाइल टावरसमेत सञ्चालनमा आएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा सुचारु भएको टेलिकमले जनाएको छ ।
यस्तै, विदुर नगरपालिका–८ स्थित तुप्चे टावर तथा गोसाईंकुण्ड गाउँपालिका–२ र टिमुरेमाथिको डाँडामा रहेको टेलिकम टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल र प्राविधिक टोली पुर्याएर सेवा सञ्चालनको काम भइरहेको छ ।
नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरू न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएर प्रभावित क्षेत्रमा सेवा सञ्चालनलाई प्राथमिकता दिइरहेका छन् ।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १२० साइटमध्ये ८० साइटमा मोबाइल सेवा पुनः सञ्चालन भइसकेको टेलिकमले जनाएको छ ।
विपद्का बेला नागरिकको सञ्चार सम्पर्क सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमको भनाइ छ ।
प्रकाशित समय : १७:०६ बजे


















