गृहपृष्ठ बाढीबाट प्रभावित क्षेत्रः नेपाल टेलिकमका ८० वटा ‘साइट’ पुनः सञ्चालनमा
बाढीबाट प्रभावित क्षेत्रः नेपाल टेलिकमका ८० वटा ‘साइट’ पुनः सञ्चालनमा
काठमाडौंं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ । बाढीका कारण प्रभावित भएका तीन जिल्लाका १२० साइटमध्ये हालसम्म ८० वटाको सेवा पुनःसञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार बाढी प्रभावित क्षेत्रमा अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको छ । भदौ ११ गते हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी गोसाइँकुण्ड गाउँपालिका–६ स्थित रसुवा सदरमुकाम धुन्चेको मोबाइल स्टेसन सञ्चालनमा ल्याइएको उनले बताए।
आज बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालन हुन बाँकी रहेका स्थानमा खटिएका छन् । यसका साथै सञ्चालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउन आवश्यक प्राविधिक कामसमेत भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिए।
यस क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्थित गोल्जुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याइएको छ । उक्त टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका-४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिका-३ र ५ का केही क्षेत्रमा मोबाइल सेवा पुनःसञ्चालन भएको छ ।
स्याफ्रुबेँसी-टिमुरे राजमार्गका केही भागमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको टेलिकमले जनाएको छ । नुवाकोटको सूर्यगढी गाउँपालिका-३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका-१० र ११ तथा सूर्यगढी गाउँपालिका-४ का केही भागमा दूरसञ्चार सेवा पुनःसञ्चालन भएको छ ।
कम्पनीका अनुसार विदुर नगरपालिका-८ स्थित तुप्चे टावर तथा गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरे माथिको डाँडामा रहेको टेलिकम टावरमा आज हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी परिचालन गरी सेवा सञ्चालन गर्ने काम भइरहेको छ ।
बाढीपछि भदौ १० गतेदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवा जिल्लाका न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएका छन् । उनिहरूले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सेवा पुनः सञ्चालन तथा सञ्चालनमा रहेका सेवाको निरन्तरताका लागि आवश्यक प्राविधिक काम गरिरहेका छन् ।
नेपाल टेलिकमले विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । बाढीबाट प्रभावित बाँकी साइटमा समेत सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन भइरहेको नेपाल टेलिकमले जनाएको छ ।
प्रकाशित समय : १६:५९ बजे


















