गृहपृष्ठ धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक छः मुख्यमन्त्री आचार्य
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक छः मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक भएको बताएका छन।
जनै पूर्णिमा (रक्षाबन्धन) का अवसरमा घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित सिद्धरत्ननाथ मठमा आयोजित महाभण्डारा तथा प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री आचार्यले संरक्षण र विकासमा प्रदेश सरकारको निरन्तर योगदान रहने बताए । सो अवसरमा उनले मठको अवलोकन गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेका यस्ता सम्पदाले दाङसहित लुम्बिनी प्रदेशको पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री आचार्यले सम्पदाको संरक्षणसँगै यसको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्नुपर्नेमा जोड दिए । उनले मठ परिसरमा रहेको ऐतिहासिक पुस्तकालयको समेत अवलोकन गरे ।
पुस्तकालयमा रहेका ऐतिहासिक तथा धार्मिक सामग्री र दस्तावेजको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले भावी पुस्ताले समेत अध्ययन तथा अवलोकन गर्न सक्ने गरी यस्ता सम्पदाको संरक्षण गर्न प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरे । उनले मठ परिसरमा रहेको ऐतिहासिक संरचनाको अवलोकन गर्नुका साथै प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको धर्मशालाको समेत अनुगमन गरे ।
धर्मशाला निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले निर्धारित लक्ष्य र उद्देश्यअनुसार निर्माणको काम अघि बढाएर पूर्णता दिइने बताए । कार्यक्रममा मठका महन्त योगी सुरतनाथ, मठाध्यक्ष पीर योगी ज्ञाननाथलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित समय : १६:५४ बजे


















