गृहपृष्ठ नेपाल लाइफको ‘नेतृत्व उत्कृष्टता पुरस्कार २०२६’ सम्पन्न
नेपाल लाइफको ‘नेतृत्व उत्कृष्टता पुरस्कार २०२६’ सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो रजत जयन्ती अर्थात् २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘नेतृत्व उत्कृष्टता पुरस्कार २०२६’ कार्यक्रम सम्पन्न गरेको छ । ‘एभरेस्ट इयर–क्लाउड्स एन्ड बियोन्ड’ नाराका साथ भदौ ३ गतेदेखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६ सय ३७ जना अभिकर्ता तथा एजेन्सी व्यवस्थापक सहभागी थिए ।
कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, विमलप्रसाद ढकाल, प्रवीणप्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्व स्थापित गरेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेको छ । उनले उक्त उपलब्धि अभिकर्ता, एजेन्सी व्यवस्थापक, कर्मचारी तथा ग्राहकको विश्वास र मेहनतको परिणाम भएको बताए ।
अग्रवालले आर्थिक वर्ष २०८३/८४ का लागि ‘एभरेस्ट इयर–क्लाउड्स एन्ड बियोन्ड’ अभियान अघि सारिएको जानकारी दिँदै कम्पनीको आगामी यात्राका लागि नयाँ लक्ष्य र रणनीतिसमेत प्रस्तुत गरे ।
सञ्चालक ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी प्रावधानको पूर्ण पालना गर्न अभिकर्ता तथा एजेन्सी व्यवस्थापकलाई आग्रह गरे । कम्पनीको दीर्घकालीन सफलताको आधार विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकता रहेको उनको भनाइ थियो ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले आर्थिक वर्ष २०८२/८३ कम्पनीका लागि ऐतिहासिक वर्ष रहेको बताए । उनले आगामी दिनमा डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै अत्याधुनिक प्रविधिको प्रयोग, ग्राहककेन्द्रित डिजिटल सेवा, तथ्यांकमा आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रियाको स्वचालनमा जोड दिने बताए ।
प्रविधिसँगै दक्ष जनशक्ति र नवप्रवर्तनलाई अघि बढाउँदै नेपाल लाइफलाई अझ सशक्त, आधुनिक र ग्राहककेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी व्यवस्थापकलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । देशभर उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी व्यवस्थापकलाई विशेष सम्मानसहित नगद पुरस्कारसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी सत्र, रणनीतिक प्रस्तुति, सम्मान समारोह तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । सहभागीहरूले अनुभव आदानप्रदान गर्दै आगामी व्यावसायिक लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल लाइफका अनुसार कम्पनीको जीवन बीमा कोष २ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । मृत्युदाबी भुक्तानी दर ९९ दशमलव १३ प्रतिशत रहेको कम्पनीको दाबी छ । कम्पनीले हालसम्म ५५ लाख ७९ हजारभन्दा बढी बीमालेख जारी गरेको तथा कुल बीमाशुल्क संकलन ३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको जनाएको छ ।
त्यस्तै, कम्पनीले नेपाल सरकारलाई हालसम्म १७ अर्ब ७१ करोड रुपैयाँ कर तिरेको जनाएको छ । यसबाट राष्ट्रिय अर्थतन्त्र तथा राजस्वमा समेत योगदान पुगेको कम्पनीको भनाइ छ ।
‘एभरेस्ट इयर–क्लाउड्स एन्ड बियोन्ड’ अभियानमार्फत विगत २५ वर्षका उपलब्धिलाई आगामी यात्राको आधार बनाउँदै थप उचाइ, नयाँ कीर्तिमान र उत्कृष्टता हासिल गर्ने लक्ष्य नेपाल लाइफले लिएको जनाएको छ । ग्राहकको विश्वास, प्रविधि, नवप्रवर्तन, उत्कृष्ट सेवा तथा व्यावसायिक सुशासनलाई केन्द्रमा राखेर कम्पनीले आगामी यात्रा अघि बढाउने जनाएको छ ।
प्रकाशित समय : १०:५७ बजे


















