गृहपृष्ठ रास्वपाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग घोषणा, सबै राजनीतिक गतिविधि स्थगित
रास्वपाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग घोषणा, सबै राजनीतिक गतिविधि स्थगित
काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायतका जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गरेको छ ।
रास्वपा सचिवालयको बुधबार बसेको बैठकले विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टीका तर्फबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
पार्टीले बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
रास्वपाले विपद् प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, शुद्ध खानेपानी, औषधि तथा खाद्यान्नको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
पार्टीले आफ्ना केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका समिति, सदस्य तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिएको छ। उद्धार तथा राहतमा पार्टीको ¥याट परिचालनको संयोजन पूर्व¥याट संयोजक आशिष थापालाई दिइएको छ ।
रास्वपाले विपद्का समयमा भ्रामक सूचना तथा अफवाह फैलिन सक्ने भन्दै सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न र सामाजिक सञ्जालमा तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ। नदी तटीय तथा पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउनसमेत पार्टीले अपिल गरेको छ ।
त्यस्तै, बेपत्ता नागरिकको खोज तथा उद्धारलाई तीव्रता दिन र प्रभावित क्षेत्रमा सम्भावित महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बाढीका कारण घरबारविहीन भएका परिवारलाई उचित क्षतिपूर्ति तथा सम्मानजनक र दीर्घकालीन पुनःस्थापनाका लागि ठोस कार्ययोजना तत्काल सुरु गर्न पनि रास्वपाले सरकारसँग माग गरेको छ ।
यसैगरी, विपद् व्यवस्थापन, उद्धार र राहतमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने भन्दै रास्वपाले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा साङ्गठनिक गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
पार्टीले प्राकृतिक विपत्तिको यस कठिन परिस्थितिमा सरकार, राजनीतिक दल, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी वक्तव्यमा सरकारले देखाएको तदारुकताको स्वागत गर्दै विपद्को यस घडीमा पार्टी प्रभावित नागरिकको साथमा रहने उल्लेख गरिएको छ ।
प्रकाशित समय : १९:५७ बजे


















