गृहपृष्ठ सेवा गर्दा गर्दै अस्ताए अधिकृत यादव , मस्तिष्क घात बन्यो कारण
सेवा गर्दा गर्दै अस्ताए अधिकृत यादव , मस्तिष्क घात बन्यो कारण
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ पचरुखी छतौना टोलमा मंगलबार बिहान असामान्य सन्नाटा थियो।
गाउँका होनहार युवा तथा सरकारी सेवामा क्रियाशील शाखा अधिकृत ओमप्रकाश यादवको पार्थिव शरीर घरमा आइपुगेपछि गाउँ शोकमा डुबेको हो।
गृह मन्त्रालय, काठमाडौंमा कार्यरत ४२ वर्षीय यादवको सोमबार राति उपचारका क्रममा निधन भएको छ। मस्तिष्कघात भएपछि करिब १० दिनदेखि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत यादवले अन्ततः जीवनसँगको संघर्ष हारेका हुन्।
डेढ वर्षदेखि गृह मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत यादवलाई काठमाडौंमै रहेका बेला अचानक मस्तिष्कघात भएको दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द यादवले जानकारी दिएका छन्।
‘अझै धेरै गर्न बाँकी रहेको उमेरमै उहाँलाई गुमाउनुपर्यो,’ यादवको निधनले गाउँ नै स्तब्ध बनेको बताउँदै वडाध्यक्ष यादवले भने । सरकारी सेवामा रहँदा यादवले रौतहटमै पनि लामो समय महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
जिल्ला प्रशासन कार्यालय रौतहटसहित जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेका उनी कर्मचारी र जनप्रतिनिधि माझ सरल, मिलनसार तथा जिम्मेवार प्रशासकका रूपमा परिचित थिए।
दुर्गा भगवती गाउँपालिका–२ का वडाध्यक्ष धर्मेन्द्रकुमार झाले यादवको निधनले गाउँपालिका मात्र नभई जिल्लाले नै एक अनुभवी र कर्तव्यनिष्ठ कर्मचारी गुमाएको बताएका छन्।
‘यति कम उमेरमै उहाँको निधनको खबर पत्याउनै गाह्रो भइरहेको छ। उहाँले प्रशासनिक क्षेत्रमा अझै धेरै योगदान दिन सक्नुहुन्थ्यो,’ झाले भनेका छन्। यादवको पार्थिव शरीर मंगलबार बिहान पैतृक गाउँ छतौना ल्याइएको छ। उनको अन्तिम संस्कार मंगलबार दिउँसो बागमती नदीको किनारमा हिन्दु परम्पराअनुसार गरिने परिवारले जनाएको छ।
यादवका एक छोरा र एक छोरी छन्। उनको असामयिक निधनले परिवारलाई मात्र होइन, आफन्त, सहकर्मी, जनप्रतिनिधि र शुभेच्छुकलाई समेत गहिरो शोकमा पारेको छ।
यादवको निधनको खबर फैलिएसँगै सामाजिक सञ्जालमा समेत श्रद्धाञ्जलीको ओइरो लागेको छ। स्थानीयवासी, कर्मचारी, जनप्रतिनिधि तथा शुभेच्छुकहरूले उनको तस्वीर राख्दै भावुक शब्दमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
४२ वर्षको अल्पायुमै भएको उनको निधनले एउटा परिवारको सहारा मात्र खोसेको छैन, प्रशासनिक क्षेत्रमा योगदान दिइरहेको एक सम्भावनाशील कर्मचारीलाई समेत गुमाएको छ।
प्रकाशित समय : १२:१६ बजे


















