गृहपृष्ठ चिनियाँ ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

चिनियाँ ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

चिनियाँ ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

ललितपुर । नेपालमा ब्याट्रीको प्रयोग तथा आयात बढिरहेका बेला चिनियाँ ब्याट्री निर्माता कम्पनीका प्रतिनिधि र नेपाली आयातकर्ता तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुने भएको छ।

ललितपुरस्थित एन्जल ट्रेड सेन्टरको कार्यालयमा आगामी अगस्ट २३ देखि २६ सम्म हुने कार्यक्रममा चीनका ब्याट्री निर्माता कम्पनीका प्रतिनिधिले नेपालमा ब्याट्री आयात, थोक बिक्री तथा वितरणमा संलग्न व्यवसायीसँग छलफल गर्नेछन्।

नेपाली बजारको वास्तविक आवश्यकता, उपभोक्ताको माग, उत्पादनको गुणस्तर, मूल्य तथा आपूर्ति व्यवस्थापनबारे निर्मातालाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले भेटघाट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

नेपालमा विद्युतीय सवारीसाधन, सौर्य ऊर्जा, इन्भर्टर, ऊर्जा भण्डारण प्रणाली, दूरसञ्चार तथा औद्योगिक उपकरणमा ब्याट्रीको प्रयोग बढ्दै गएको छ। यस्तो अवस्थामा नेपाली बजारमा आवश्यक ब्याट्रीको प्रकार, क्षमता, गुणस्तर तथा मूल्यबारे उत्पादकसँग प्रत्यक्ष छलफल आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।

कार्यक्रममा सहभागी नेपाली व्यवसायीले बजारमा देखिएका समस्या, ग्राहकको माग र आवश्यकताबारे चिनियाँ निर्माता प्रतिनिधिलाई जानकारी गराउनेछन्। त्यस्तै, निर्माताले नेपाली बजारअनुकूल उत्पादन, प्रविधि तथा आपूर्ति व्यवस्थाबारे जानकारी दिने अपेक्षा गरिएको छ।

छलफलबाट नेपालमा कुन प्रकार र क्षमताका ब्याट्रीको माग बढी छ, मूल्य तथा गुणस्तरको अवस्था कस्तो छ र आगामी दिनमा कुन उत्पादनको माग बढ्न सक्छ भन्नेबारे बजार जानकारी संकलन गरिने जनाइएको छ।

विशेषगरी लिथियम ब्याट्री, सौर्य ब्याट्री, विद्युतीय सवारीका ब्याट्री, ब्याट्री सेल तथा ब्याट्री व्यवस्थापन प्रणाली लगायतका क्षेत्रमा बजारअनुकूल उत्पादन विकासबारे छलफल हुने बताइएको छ।

त्यस्तै, चिनियाँ निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित भएपछि नियमित आपूर्ति, थोक खरिद, उत्पादन अनुकूलन तथा दीर्घकालीन व्यावसायिक साझेदारीको सम्भावना बढ्ने अपेक्षा गरिएको छ।

ब्याट्रीको प्रयोग बढेसँगै प्रयोग भइसकेका ब्याट्रीको व्यवस्थापन, पुनःप्रयोग तथा पुनर्चक्रणको विषय पनि महत्वपूर्ण बन्दै गएको छ। त्यसैले ब्याट्री व्यवसायलाई आयात र बिक्रीमा मात्र सीमित नराखी उत्पादनदेखि आपूर्ति, प्रयोग, सङ्कलन, पुनःप्रयोग र पुनर्चक्रणसम्मको समग्र प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरूको भनाइ छ।

चीन विश्वकै प्रमुख ब्याट्री तथा स्वच्छ ऊर्जा प्रविधि उत्पादन केन्द्रमध्ये एक भएकाले नेपालमा विद्युतीय सवारी, सौर्य ऊर्जा र ऊर्जा भण्डारण प्रणालीको प्रयोग बढ्दै जाँदा दुई देशबीच ब्याट्री व्यापार तथा प्रविधिमा सहकार्यको सम्भावना थप बढ्ने अपेक्षा गरिएको छ।

एन्जल ट्रेड सेन्टरले चिनियाँ निर्माता र नेपाली व्यवसायीबीच समन्वय गर्दै बजारको आवश्यकता निर्मातासम्म पुर्‍याउने तथा भविष्यमा नेपालका लागि उपयुक्त उत्पादन र व्यवस्थित आपूर्ति शृङ्खला निर्माणमा सहजीकरण गर्ने जनाएको छ।

प्रकाशित समय : ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु